काठमाडौं- नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाइकलको चेनले चुँडाएको औंलाको सफल शल्यक्रिया भएको छ। शल्यक्रियापछि चुँडिएको औँला जोडिएका छन्।
अस्पतालमा करिव ९ घण्टा लामो शल्यक्रियापश्चात बालकको चोरी र साइली औँला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा संगम रायमाझीले जानकारी दिए।
मोटरसाइकलको चेनले च्यापिँदा बालकको चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो।
दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ।
के गरियो औलामा ?
चिकित्सकका अनुसार च्यापिएर चुँडिएको चोरी औँलालाई काटिएको थियो। त्यसपछि उक्त औंला जोड्ने (रिप्लान्टेसन) गर्ने काम भएको हो। त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन)संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुुरु गरियो। माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन।
जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नुपरेको चिकित्सकले बताएका छन्। काटिएको भन्दा पनि पेलिएको घाँउ भएकाले रिप्लान्टेसन गर्न थप कठिन बनेको डा रायमाझीले जानकारी दिए।
उपचारमा डा रायमाझिसहित एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए।