रुपन्देही- तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ। नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले आज वडा नं– ४ को सीमानगरबाट पौष्टिक आहार वितरण शुरु गरेका हुन्।
प्रारम्भिक चरणमा वडा नं– ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख काशिनाथ बञ्जाडेले जानकारी दिए। आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ।
सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौला हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो। पोषण आहारमा एक क्रेट अण्डा, एक लिटर खाने तेल, आयोडिनयुक्त नून, साबुन, सर्वोत्तम पिठो, बालभिटालगायत छन्। दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मी बताउँछन्।
पोषण आहार वितरण शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान शुरु गरिएको बताए। उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको जानकारी दिइन्। मूलतः विपन्न तथा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो। अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिने छ। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।