इटहरी– ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–६ स्थित थुम्बेदिन स्वाथ्य चौकीमा पहिलोपटक प्रयोगशाला र प्रसूतिगृहको स्थापना भएको छ।
गत बिहीबार गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बाले प्रयोगशाला र प्रसूतिगृहको उद्घाटन गरेका हुन्।
कार्यक्रममा १६ लाखको बजेटमा प्रयोगशाला र प्रसूतिगृहको स्थापना भएको स्वाथ्य चौकी प्रमुख कृष्ण काफ्लेले बताए। काफ्लेका अनुसार प्रसूतिगृहको लागि आवश्यक करिब ९ लाख बराबरका सामानहरू ‘वान हार्ट वल्डवाइड’ संस्थाले प्रदान गरेको हो।
प्रसूतिको लागि आवश्यक प्राविधिक सहयोग गरेको उक्त संस्थाले ७० हजारको आधुनिक बेड, हिटर, पेरी ल्याम्प, सक्सन मेसिन, रेफ्रिजेरेटस, जस्ता विभिन्न औषधि, उपकरण, औजार सहयोग दिएको काफ्लेले बताए।
यस्तैगरी, ७ लाख बराबरको बजेट सहयोग गर्दै काठमाडांैको नेपाल पुनर्वी कम्पनीले प्रयोगशालाको लागि सहयोग गरेको काफ्लेको भनाइ छ। आगामी चरणमा थप सात लाखको प्रयोगशालाको सहयोग आउने आश्वासन कम्पनीले दिएको समेत काफ्लेले बताए।
कार्यालय सहयोगीसहित २ अनमी, २ अहेब र १ जना एचए कार्यरत स्वाथ्य चौकीमा एक जना दक्ष प्रसूतिकर्मी अनमी कार्यरत छन्। ‘स्थानीय सरकारले करारमा यी दरबन्दीमा जनशक्ति थप्ने आश्वासन दिएको छ,’ काफ्लेले भने।
व्यवस्थित प्रसूति सेवाको लागि थप एक जना अनमी र प्रयोगशालाको लागि एक जना ल्याब असिस्टेन्टको आवश्यकता भएको काफ्लेले बताए।