कालिकोट– जिल्लाको खाँडाचक्र नगरपालिकाले आयुर्वेद औषधालय सञ्चालन गर्ने भएको छ। कर्णालीमा प्रशस्त जडिबुटी पाइने हुनाले आयुर्वेद औषधालय स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ।
हालसम्म कुनैपनि स्थानीय तहले जडिबुटीको संरक्षण तथा प्रबद्र्धन गर्ने नीति कार्यक्रम ल्याएका छैनन। तर, खाँडाचक्र नगरपालिकाले स्थानीय स्तरमा पाइने जडिबुटीको प्रयोग गरेर आयुर्वेदिक औषधालयको स्थापनमा भएको हो।
कर्णाली प्रदेश जल, जंगल र जडिबुटीको खानी भएकाले यहाँका रुख, पात र झारहरू औषधिका रुपमा प्रयोग हुन्छन्। त्यसैले यस प्रदेशलाई आयुर्वेदिक प्रदेशका रुपमा विकास हुनुपर्ने र त्यसका लागि नगरपालिकाले आयुर्वेदिक औषधालय खोल्ने तयारी गरेको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए।
औषधालयका लागि आव २०७६÷०७७ बजेटमा १० लाख रुपैयाँ विनियोजन गरेको र आगामी वर्षमा अनुसन्धान केन्द्रको रुपमा नै विकास गरिने आयुर्वेद शाखा प्रमुख पाण्डेले बताए।
‘पहिलो पटक हामीले अभ्यासका रुपमा औषधालय खोल्दैछौं,’ उनले भने, ‘आगामी दिनमा अनुसन्धान केन्द्रका रुपमा विकास गरिनेछ।’
कालिकोटमा पाइने जडिबुटीको प्रयोग गरेर यहाँकै औषधि बनाएर नगरपालिकालाई औषधिमा आत्मनिर्भर बनाउन सकिने उनले बताए।