जाजरकोट- सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुगेकी छिन्। डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उनी डोल्पा पुगेकी हुन्।
कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज विमानस्थलमा थन्किएको थियो। सो थन्किएको औषधिसमेत सांसद पहाडीले डोल्पा पुर्याएकी हुन्। त्यस्तै मुड्केचुला गाउँपालिका–१ मा पहिरोले क्षति बनाएको ठाउँमा आवश्यक राहत सामग्री लिएर आजै त्यहाँ जाने पूर्वमन्त्रीसमेत रहेकी पहाडीले बताइन्। उनीसँगै प्रदेशसभा सदस्य वीरबहादुर शाही, पदमी बोहोरालगायत छन्।
प्रदेश सरकारका तर्फबाट १५ वटा पाल, ३० बोरा चामल, ३० वटा पानी खाने भाँडा, ३० बाल्टी, ६० पोका तेल, ३० किलो चिनी, तीन क्विण्टल दाल, डेढ क्विण्टल चिउरा, २६ वटा कम्मल, ५०० मिटर पाइपसमेत आजै मुड्केचुला–१ मा वितरण गरिने उनले बताए।
अस्पतालको क्षमताभन्दा बिरामीको सङ्ख्या बढी भएपछि जिल्ला अस्पतालको अनुगमण गरी आवश्यक प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। १५ श्ययाको डोल्पा अस्पतालमा अहिले समस्या हुँदै आएको छ। साउन ३ गतेदेखि अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बृहत् शिविर सञ्चालन गरिने उनले बताए। रासस