विराटनगर– नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर उक्त सेवा सुरु गरेको हो।
सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा राजेश नेपालले जानकारी दिए। ‘पहिलो चरणमा तीन जनाको सफलतापूर्वक ओपन हार्ट सर्जरी गर्यौ’ उनले भने, ‘उपचार सफल भएको छ। अहिले उहाँहरु सबै जना निको भएर घर फर्किसक्नुभयो।'
उनले उक्त सेवा अव नियमित हुने बताए।
जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा.प्रमान शर्माले बताए।
जटिल शल्यक्रिया भएकाले नेपालका केहि अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ। नोबेलले मुटुको शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित हुनेछन्।
नोबेलमा ओपन हार्ट सर्जरी गराएकी मोरङ केरावारीकी सिर्जना घिमिरेले आफ्नै जिल्लामा जटिल अप्रेशन गराउँन पाउँदा ९ बर्षदेखिको पीडाबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गरिन्।
यता, झापा मेचिनगरकी ६४ बर्षीया घाँसीमाया घिमिरेको मुटुको सफल शल्यक्रियापछि उनका भाई तुलसी थापाले पनि धेरै सहज भएको प्रतिक्रिया दिए।
२०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको उपचार थालेको नोबेलले यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गरेको थियो।