सिन्धुपाल्चोक- मापदण्ड विपरीत सञ्चालनमा आएका स्वास्थ्य केन्द्रहरू हेलम्बु गाउँपालिकाले बन्द गराएको छ।
बन्द हुनेमा गाउँपालिकामा १५ वर्षदेखि सञ्चालित महाङ्काल स्वास्थ्य सेवा समिति र मंगल स्वास्थ्य केन्द्र रहेका छन्।
मानव स्वास्थ्यमाथि खेलवाड गरेकाले सरकारले तोकिएको कानुन मिचेर सञ्चालित भएका स्वास्थ्य केन्द्र बन्द गराएको गाउँपालिकाले जनाएको छ।
सरकारले तोकिदिएको मापदण्ड पुर्याउन नसकेका कारण स्वास्थ्य केन्द्र बन्द भएको गाउँपालिकाका स्वास्थ्यकर्मी ज्ञानेन्द्र सिग्देलले बताए।
'आफूखुसी सेवा सञ्चालन गरेको पाइएपछि हामीले कागजात पुर्याउन ताकेता गरेपनिती स्वास्थ्य केन्द्रले कागजात पुर्याउन सकेनन्,' स्वास्थ्यकर्मी सिग्देलले भने।
गत साउनदेखि सञ्चालित कन्यामारिया हेल्थ एण्ड एजुकेसन सेन्टर हेलम्बु -४ मा रहेकाले पनि स्थानीयतहसँग समन्वय नगरेका कारण स्थगित गरिएको सिग्देलले बताए। उनीहरूलाई मापदण्ड पुर्याएर सञ्चालनमा ल्याउन गाउँपालिकाले अनुरोध गरेको छ।
सरकारको रणनीति अनुसार हेलम्बु गाउँपालिकाले एउटा वार्डमा एउटा स्वास्थ्य संस्थाको पहुँच पुर्याएको स्वास्थ्यकर्मी सिग्देलले बताए।