काठमाडौं- मृगेन्द्र सम्झना चिकित्सा गुठीले ४४औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य क्षेत्रमा समाजसेवा गरेका व्यक्तिलाई सम्मान, पदक तथा छात्रवृत्ति प्रदान गरेको छ।
गुठीले 'मृगेन्द्र सम्झना गुठी पुरस्कार'बाट प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका-२ स्वर्गद्धारी आश्रमलाई सम्मान गरेको छ। सो सम्मान साथ आश्रमले १ लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ। सामाजिक तथा आध्यात्मिक क्षेत्रमा विषेश योगदान दिएको भन्दै आश्रमलाई पुरस्कार प्रदान गरिएको बताइएको हो। यसैगरी 'मृगेन्द्र सम्झना गुठी बालसेवा पुरस्कार'बाट अनाथ बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै नेपाल बाल संगठन बालमन्दिरलाई पुरस्कृत गरेको छ।
यसैगरी, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत शिक्षण अस्पताल महाराजगंजमा एमबिबिएसको वार्षिक अन्तिम परीक्षामा सबैभन्दा बढी अंक ल्याउने छात्रा डा. उपमा क्षेष्ठ र डा. बिनिता तिमिल्सिनालाई 'सम्झना स्मिृति स्वर्णपदक' पुरस्कार प्रदान गरिएको छ। शौक्षिक सत्र २०७३/२०७४ मा सबैभन्दा बढी अंक प्राप्त गरेर श्रेष्ठले एमबिबिएस टप गरेकी थिइन् भने २०७४/२०७५ मा डा. बिनिता तिमिल्सिनाले टप गरेकी छन्। गुठीले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रो. डुक क्यामरेनलाई समेत सम्मान गरेको छ।
कार्डियाक सोसाइटी अफ नेपालसँगको सहकार्यमा गुठीले हरेक वर्ष अन्तराष्ट्रिय मुटुरोग सम्मेलनसमेत गर्दै आएको छ।
२०३२ साल स्थापना भएको गुठीले रोगपीडित अशक्त तथा सर्वसाधारणहरुको स्वास्थ्य परिक्षण र औषधीउपचार गर्ने, छात्रवृति पुरस्कार प्रदान गर्ने, महिलाहरुको स्वास्थ्य सेवा, आयमूलक कार्य, जनस्वास्थ्यसम्बन्धी कार्य, आर्थिक, सामाजिक र परोपकारी कार्य गर्नु र आध्यात्मिक कार्यमा सहयोग गर्दै आएको र अगामी दिनमा पनि गर्दै जाने गुठीका सदस्य-सचिव काल्यणराज पाण्डेले बताए।
गुठीका संस्थापक मृगेन्द्र पाण्डेले साथ र सर्मथनका लागि सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहयोगको अपेक्षा गरेका छन्। उनले सामाजिक कार्यमा निरन्तर लागिरहेन प्रतिबद्धता समेत गरेका थिए।