डडेल्धुरा– क्यान्सरको उपचार गराइरहेका क्रिकेट खेलाडी केशव सिंहलाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख ३७ हजार ९ सय७६ रुपैयाँ सहयोग गरेको छ।
आइतबार आलिताल गाउँपालिकामा एक कार्यक्रमकाबीच खेलाडी सिंहलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
सुदूरपश्चिम कोरियाली समाजका पूर्व अध्यक्ष नरबहादुर साँकीले कोरियामा कार्यरत १ सय १२जनाको संयुक्त पहलमा रकम संकलन भएको बताए।
यस्तै आलिताल निर्माण व्यवसायी संघले सिंहलाई १५ हजार १ सय ५५ र गाउँस्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले नगद पाँच हजार सहयोग गरे।
गाउँपालिका यसअघि सिहंलाई ५० हजार आर्थिक सहयोग गरिसकेको छ।कलेजो र फोक्सो क्यान्सरका बिरामी सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या आएको छ। उनी अहिले भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा उपचाररत छन्।
अपरेशन खर्च करिब १५ लाख लाग्ने भएपछि उनले सहयोगको अपिल गरेका छन्। विगतमा भन्दा अहिले सिंहको स्वास्थ्यामा सुधार भएको उनको परिवारले जनाएको छ।
उनी डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सक्नेछन्।