पर्वत- पर्वत जिल्लाको विकट गाउँमा एक दशक पहिले स्थापना गरिएको टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ। फलेवास नगरपालिका–८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो।
स्थानीय चार भञ्ज्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको यस सेन्टरमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा दिँदै आएका छन्। स्वास्थ्य केन्द्रले स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विशेषज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ।
हाल स्वास्थ्य केन्द्रबाट छारेरोग, मानसिक समस्या, पिसाब, छालारोग र नसाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिए। सेवा प्रभावकारी भएपछि हाल जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला बागलुङ, गुल्मी, कास्की, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी यहाँ आउने गरेका छन्।
लामो समयदेखि नसाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका तनहुँ ब्यास नगरपालिकाका ४० वर्षीय रमेश सिग्देल सेन्टरमा उपचार सेवा लिएपछि निको भएको बताउँछन्। 'पहिले नसाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो', उनले भने, 'विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरेँ, अहिले निको भएको छ।' उनले हाल विदेशी डाक्टरको सल्लाहमा घाँटीको नसाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताए।
उनीजस्तै थुप्रै बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ। उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीँबाट सेवा दिने गरेको छ।
केन्द्रमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिन आउने गरेको संस्थाका सिनियर अहेब अधिकृत पदम सापकोटाले बताए। उनका अनुसार टेलिमेडिसिन सेवाअन्तर्गत एकै महीनामा तीन हजार १०० बिरामीले सेवा लिएको तथ्याङ्कसमेत छ।
बेलायतमा रहेका नेपालीको सङ्घठन चार भञ्ज्याङ तमु समाज युकेको पहलमा चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथमिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवा दिनका लागि सेन्टरको स्थापना गरिएको थियो। यस केन्द्रमा टेलिमेडिसिन सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विशेषज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजना गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको छ। रासस