सरस्वती मानन्धरकी आमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नर्स थिइन्। सरस्वती पनि त्यही अस्पतालमा जन्मिइन्। प्रसूति गृहकै परिसरमा खेल्दाखेल्दै बित्यो उनको बाल्यकाल।
उनी विद्यालय जानुअघि र विद्यालय बिदा हुँदा आमाको पछि लाग्दै प्रसूति गृह नै पुग्थिन्। ‘प्रसूति अस्पताल त मामाघरजस्तै लाग्छ। त्यहीँ जन्मिएँ, त्यहीँ हुर्किएँ। माया पनि औधि लाग्छ,’ उनी भन्छिन्।
आमा नर्स भएकाले सरस्वतीलाई सानैदेखि सेतो कोटमा देखिने महिला औधि खुब मन पर्थे। त्यसैले उनले ठूलो भएर आमा जस्तै नर्स बन्ने सपना बुनेकी थिइन्। भन्छिन्, ‘नर्सबाहेक अरु बन्छु भन्ने त सोचै आएन। सेतो कोट लगाएर बिरामीको सेवा गरेको देख्दा म कहिले यसरी काम गर्ने होला भनेर सोचिरहन्थे। म नर्स बनेको कल्पना गरेर दंग पर्थें।’
आमा र अन्य नर्सहरुले दिनरात नभनी बिरामीको सेवा गर्थे। बिरामीले निको भएर घर जाने बेलामा खुसी हुँदै आमाहरुलाई धन्यवाद दिएको पनि उनलाई खुबै राम्रो लाग्थ्यो।
उनलाई आफ्नी आमा सबैभन्दा ठूलो मानिस लाग्थ्यो। नर्सले बिरामीको स्याहार गरेर ज्यान बचाउँदारहेछन् भनेर बुझेकी थिइन् उनले।
दिनभर अस्पतालमा डिय्टी गरी थाकेर आमा घर आउँथिन्। तर, गाउँका मानिसलाई सहयोग चाहिएर बोलाउन आए भने आमा केही नभनी सहयोगका लागि गएको सम्झना अहिले पनि छ उनलाई।
‘लक्ष्मी सिस्टर भनेपछि गाउँका सबै मान्छेले चिन्थे। गाउँमा कसैलाई सुत्केरी गराउन प¥यो भने आमालाई घरमा लिन आउँथे। आमा अस्पतालबाट भर्खर थाकेर घर फर्कनुभएको हुन्थ्यो, सहयोगको लागि बोलाउन आएका छन् भने सहयोगको लागि तुरुन्त गइहाल्नुहुन्थ्यो,’ उनले विगत सम्झिइन्।
उनको इच्छाबारे परिवारमा पनि पहिल्यैदेखि जानकारी थियो। नर्स पढ्छु भन्दा आमा पनि खुसी हुनु स्वाभाविक थियो। उनले भनिन्, ‘यति धेरै दुःख गर्दा पनि आमाको अनुहार सधै हाँसीखुसी देख्दा नर्सिङ पेसा राम्रो भन्ने बुझिसकेकी थिएँ।’
त्यसैले एसएलसी पास हुनासाथ अरु साथी के पढ्ने भन्ने दोधारमा थिए, सरस्वतीले भने महाराजगञ्ज नर्सिङ कलेजबाट पिसिएल नर्सिङको पढाइ सुरु गरिन्। सुरुमा प्राटिकल गर्दा टिचिङ अस्पतालमा परेकोले गाह्रो हुन्छ भन्ने मनमा डर थियो। तर सोचेभन्दा सहज भएको उनको अनुभव छ।
जब दोस्रो वर्षको प्राक्टिकल प्रसूति तथा स्त्रीरोग अस्पतालमा प¥यो, यत्सपछि भने निकै खुसी भइन् उनी। आफू जन्मेहुर्केकै अस्पतालमा काम गर्ने मौका मिलेको थियो उनलाई। त्यसमा पनि मिडवाइफ्री कोर्स भएकोले १८ हप्ता आमासँग अस्पतालमा काम गर्ने मौका मिल्यो। आमासँगै काम गर्न पाउँदाको अनुभव सरस्वतीलाई अहिले पनि महत्वपूर्ण लाग्छन्।
आमासँग अस्पतालमा रातिको डियुटी गरेको क्षण सम्झँदा अहिले पनि रमाइलो लाग्ने गरेको उनी बताउँछिन्। आमा भएकाले सरस्वतीले राति बसेर पनि काम सिक्ने मौका पनि पाइन्। १८ हप्ताको प्राक्टिकल कति छिटो बित्यो पत्तो नै नभएको उनी बताउँछिन्।
२०५६ सालमा नर्सिङ उर्तीण भएपछि सरस्वतीले मेडिकेयर अस्पतालमा काम गर्न सुरु गरेकी थिइन्। त्यसको दुई महिनापछि प्रसुति तथा स्त्री रोग अस्पतालमा उनको करारमा नाम निस्कियो। त्यसपछि दुईतिर काम गर्न थालिन्। दुईतिरको जागिरबाट तलब आउँदा उनलाई निकै खुसी लाग्थ्यो।
दुईतिर गरी ७ हजार ९ सय तलब पाउथिँन्। त्योे रकम ठूलो थियो। यति पैसाले त्यतिबेला आधा तोला सुन आउँथ्यो। पहिलो कमाइले उनले आधा तोला सुन किनेकी थिइन्।
जब उनको विवाह भयो, त्यसपछि भने दुईतिरमध्ये एकतिरको जागिर छोड्नुपर्ने अवस्था आयो। उनले मेडिकेयरको जागिर छोडिन् र प्रसूति अस्पतालमा मात्र काम गरिन्।
२० वर्ष नर्सिङ पेसामा बिताएकी सरस्वतीले यो अवधिमा धेरै अस्पतालमा काम गरिन्, पढिन् र पढाइन्। तर जति ठाउँमा काम गरे पनि उनी प्रसूति अस्पतालमै जोडिन पुग्छिन्। उनले नर्सिङमा स्नातकोत्तरसम्म अध्ययन गरिन्।
प्रसूति अस्पतालको काम ठिकठाक चलिरहेको थियो। घरायसी कारणले अचानक उनलाई प्रसूति अस्पतालको काम छोड्नु पर्यो। जागिर छोड्नु परेको क्षण जीवनको सबैभन्दा नरमाइलो क्षण भएको उनको अनुभव छ। हाल सरस्वती मनमोहन इन्ष्टिच्युट अफ हेल्थ साइन्समा वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत छन्।
प्रसूति अस्पतालमा लामो समय काम गरेकी सरस्वती आफूलाई लेबर रुममा काम गर्न रुचि भएको बताउँछिन्। पहिलो पटक नर्स भएर लेबर रुममा काम गर्दा गर्भवतीहरुको भावना बुझ्न भने निकै गाह्रो भएको उनको अनुभव छ। उनले भनिन्, ‘जब म आमा बनेँ, त्यसपछि बल्ल गर्भवतीको मनको कुरा बुझ्न थालेँ।’
उनले थपिन्, ‘पहिलो सन्तान छोरी भएका गर्भवती लेबर रुममा आएपछि दोस्रो सन्तान के होला भनेर चिन्ता गर्थे। त्यसैले सामान्य अवस्थामा सुत्केरी हुनसक्ने गर्भवतीलाई पनि शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने अवस्था आउँथ्यो।’
कतिपय महिला चिन्तित भए पनि बाहिर नदेखाउने खालका हुन्छन्। धेरै महिलालाई दोस्रो पटक गर्भवती भएपछि छोरा नै भए हुन्थ्यो भन्ने चाहना हुने रहेछ। अझ पहिलो सन्तान छोरी भएका महिला बढी चिन्तित हुने उनको अनुभव छ। ‘जब छोरा जन्मिन्छ, त्यो समय उनीहरुमा खुसीको सीमा नै हुँदैन,’ उनी भन्छिन्। आजकल उनले छोराछोरी जे भएपछि आफ्नै सन्तान हुन्, गलत सोच राख्न हुन्न भनेर सम्झाउने गरेकी छिन्।
भुल्न नसकेको त्यो घटना
केही वर्षअघि २६ वर्षकी महिला पेटमा बच्चा चल्न छाडेपछि अस्पताल आएकी थिइन्। उनी सुत्केरी हुने समय आउन केही हप्ता मात्र बाँकी थियो। अस्पताल आएपछि उनको मृत बच्चा जन्मियो। बच्चा जन्मिएको केही घन्टापछि नै संक्रमणका कारण अत्यधिक रक्तश्राव भएर उनी बेहोस् भइन्। रातभरि डाक्टरले उपचार गर्दा पनि होस्मा ल्याउन सकेका थिएनन्।
भोलिपल्ट ११ बजेपछि उनी होस्मा आइन्। दिउँसो उनलाई बोलाउँदा केही प्रतिक्रिया दिन थालेकी थिइन्।‘तिम्रो खबर के छ ?’ भन्ने प्रश्न गर्दा ‘ठिक छ’ भन्ने जवाफ दिएकी रहिछन्। तर दिउँसो ४ बजेतिर उनको मृत्यु भयो।
पछि बुझ्दै जाँदा उनको पहिलो सन्तान छोरी रहिछन्। उनका श्रीमान्को पहिलो श्रीमतीको पनि बच्चा जन्माउने क्रममै मृत्यु भएको रहेछ। श्रीमान्ले एउटै कारणले गर्दा दुई वटा श्रीमती गुमाउनुप¥यो भने सानो छोरीबाट आमाको काख पनि छुट्यो। त्यो घटनाले अहिले पनि सरस्वतीलाई नरमाइलो बनाउँछ।
त्यस्तै अर्को घटना पनि उनलाई याद आइरहन्छ। १९ वर्षकी श्रीमती लिएर २३ वर्षे श्रीमान् अस्पताल आएका थिए। लेबर रुममा श्रीमती थिइन्। बच्चा जन्माउँदा श्रीमान्लाई पनि लेबर रुममा राखिएको थियो।
‘श्रीमान्ले सोचेका रहेछन्, फिल्ममा जस्तै फुत्त बच्चा जन्मन्छ। बच्चा जन्माउँदा प्रसव पीडाले श्रीमती चिच्याएको देखेर श्रीमान्लाई चिट्चिट् पसिना आइरहेको थियो,’ उनले पुरानो घटना सम्झिइन्, ‘केही बेरपछि उनी बेहोस् नै भए।’ सरस्वतीलाई श्रीमतीको स्याहार गर्ने कि श्रीमान्को स्याहार गर्ने भनेर आपत नै परेको थियो।