ललितपुर– कतारमा १२ वर्ष काम गरेर फर्किएका सातदोबाटो, ललितपुरका दिपक भेटवालले ललितपुरकै थासिखेलमा योग स्कुल सञ्चालनमा ल्याएका छन्। बिहीबारदेखि भेटवालले 'नेपाल स्कुल अफ योग' सञ्चालनमा ल्याएका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रिवन काटेर उक्त योग स्कुलको उद्घाटन गरेका थिए।
भेटवाल कतारको एसएसके ट्रेडिङ कम्पनीमा म्यानेजरको रुपमा कार्यरत थिए। काम गर्दागर्दै उनलाई हाइपरटेन्सनको समस्या भयो। ‘यो समस्याका लागि मेडिकलका धेरै औषधि खाएँ, समस्या समाधान नभएपछि योगभ्यास तिर लागेँ,’ भेटवालले भने, 'योगभ्यासबाट नै हाइपरटेन्सन निको भयो।’
आफ्नो जटिल किसिमको समस्या योगका माध्यमबाट समाधान भएपछि अन्यलाई पनि यस्ता समस्याबाट उन्मुक्ति मिलोस् भन्न स्कुल खोलेको उनले प्रष्ट पारे।

भेटवाललाई लाग्यो हाइपरटेन्सनको समस्या थप जटिल बन्दै गइरहेको छ। आफूलाई एलोपेथिक औषधीको प्रयोगबाट समाधान नभएको समस्या योगबाट सामाधान भएपछि उनी यसको थप अध्ययनतिर लागे।
कतारमा काम गर्दागर्दै भेटवालको मन योगतिर तानिइसकेको थियो।
‘कतारमै योग अभ्यास गर्दागर्दै अध्ययन गर्न मन लाग्यो, बिस्तारै अध्ययनतिर लागेँ,’ भेटवालले सुनाए। कतारबाट फर्किएर भेटवालले वाल्मीकि क्याम्पसमा योगदर्शन पढ्न थाले।
‘मजस्तै थुप्रै मानिसहरु हाइपरटेन्सनको समस्याबाट ग्रसित छन्, त्यसैले नेपालमा योग स्कुलको आवश्यकता महशुस गरी सञ्चालनमा ल्याएको हुँ,’ भेटवालले भने।
नाफाको उद्देश्यले भन्दा सामाजिक महत्वका हिसाबले योग स्कुल सञ्चालनमा ल्याएको भेटवालले स्पष्ट पारे। १० वर्षमा १ सय वटा शाखा खोल्ने र १ हजार योग गुरु उत्पादन गर्ने भेटवालको योजना छ। नेपालमा योगको क्षेत्रमा पनि थुप्रै रोजगारीका अवसर सिर्जना हुने उनले विश्वास व्यक्त गरे।
स्कुल उद्घाटनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मानव जीवनमा योगको महत्व रहेको जिकिर गरे।

‘योगले मानव शरीरलाई भौतिक रुपमा सुगठित बनाउँदै सकारात्मक मानसिकताको विकास गर्छ,’ उनले भने, ‘नियमित योग गर्ने मानिस कल्याणकारी कामतर्फ आकर्षित हुने हुँदा स्वस्थ समाजको विकास हुन्छ।’
सरकारले योगलाई विशेष ढंगले लैजाने प्रयास गरिरहेको मन्त्री विष्टले बताए। योगलाई नेपालको पाठ्यक्रममा नै समावेश गर्न आवश्यक भएको पनि उनको तर्क छ।
मेडिसिटी अस्पतालका न्यूरोसर्जन डा प्रकाश पौडेलले पनि शारीरिक तथा मानसिक सन्तुलनका लागि योग महत्वपूर्ण रहेको धारणा राखे। उनले भने, ‘योगले मानिसको ध्यान केन्द्रित बनाउनुका साथै शारीरिक तथा मानसिक रुपमा बलियो रहन सघाउ पुग्छ।’