पोखरा- नेपाल जनस्वास्थ्य संघ गण्डकी प्रदेशले स्वास्थ्य समूहका कर्मचारी पदस्थापनमा विशेष सतर्कता अपनाउन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ।
प्रदेशमा समायोजन भएका स्वास्थ्यका कतिपय कर्मचारीले सेवा समूह/उपसमूह नै नभएको स्थानमा पदस्थापन हुन खोजेको भन्दै मुख्य मन्त्रीको ध्यानाकर्षण गराएको हो।
नेफा गण्डकी प्रदेशका सचिव नारायण सापकोटाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा केही सेवा समूह वा उपसमूहमा सेवारत कर्मचारीहरु आफू अनुकूल हुनेगरी सेवा समूह नै नभएको स्थानमा पदस्थापित हुनका लागि प्रयासमा रहेको तथा निर्णायक प्रणालीलाई नै प्रभावित पार्ने कोसिसमा रहेको उल्लेख छ।
नेफाले ती कर्मचारीको यो प्रयास सफल भए कर्मचारीबीचमा असमझदारी बढ्ने र स्वास्थ्य सेवामा गम्भीर असर पर्ने चेतावनी दिएको हो। उसले ‘राइट म्यान इन राइट प्लेस’ गरी यथा समयमा कर्मचारीको पदस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिन मुख्य मन्त्री समक्ष अनुरोध गरेको छ।