राँझा- प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई रु एक करोड मूल्य बराबरका मेडिकल उपकरण प्रदान गरेको छ।
अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा आशीष दत्तले जानकारी दिए।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले आईतबार अस्पतालको उद्घाटन गर्दै उक्त सामग्री प्रदान गरेका हुन्। नागरिकको सुरक्षामा खटिने प्रहरी तथा कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न २०५५ सालमा स्थापना गरिएको उक्त अस्पताल २०५८ सालदेखि आफ्नै भवनमा सञ्चालन हुँदै आएको थियो।
मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबललगायत अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख डा आशीष दत्तले जानकारी दिए।
उनका अनुसार, ओपिडी, इमर्जेन्सी, फार्मेसी, वार्ड, माइनर, ओटी, एक्सरे, फिजियो थेरापी सेवाका साथै प्रयोगशालासमेत सञ्चालन गर्दै आइरहेको १५ श्ययाको उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गर्दै आइरहेको छ।
अस्पतालबाट हालसम्म प्रहरी कर्मचारी तथा प्रहरीका परिवारहरुमध्ये १८ हजारभन्दा बढीले सेवा लिइसकेका अस्पतालका प्रमुख डा दत्तले बताए। रासस