डोटी- समाजको लाजसँगै गरिबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै पनि रोग लुकाएर बस्न बाध्य छन्।
जिल्लामा पटक - पटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्ने गरेकाे जिल्ला अस्पताल डोटीका डा गिरिष अवस्थी बताउँछन्।
जिल्ला अस्पताल डोटीका अनुसार जिल्लामा करीब चार दर्जन पाठेघर खसेका महिला छन्। पाठेघर खसेका बारेमा श्रीमानलाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका– ६ निरौली स्थानीय भागरथी बोहरा बताउँछिन्। उनले उपचारका लागि श्रीमान्ले सहयाेग गर्नुपर्ने बताउँछिन्।
सन्तान पाएको हप्तादिनभित्रमै महिलाले गहुँङ्गो र कठिन कामकाज गर्ने तथा आराम नगर्ने परम्परा गाउँमा कायमै भएका कारण यहाँका महिलामा बढिजसो आङ खस्ने समस्या देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललित लिम्बूले बताउँछन्। “नानीबाबु पाएका महिलाले धेरै आराम गर्नुपर्ने हो तर यहाँ त्यस्तो रहेनछ, भारी बोक्नेदेखि अन्य काम गर्दा रहेछन् त्यसैले यो समस्या आएको हो।”
डोटीलगायत समग्र सुदूरपश्चिमका महिलाले आफ्नो ज्यान नै जोखिममा राखेर पाठेघरको रोग लुकाउने गरेकाले पाठेघरको समस्याले विकराल रुप लिँदै गएको दिपायलका स्थानीय तुलसी शाहीले बताए।
उनले भन्छन्, “ज्यान नै खतरमा राखेर महिला रोग लुकाउन थालेका छन्, आफ्नो रोग लुकाए कसरी निको होला र ?”
पाठेघरको सहज, सरल र निःशुल्क उपचार हुन्छ भन्ने जान्दा जान्दै पनि समाजको डरका कारण सुदूरपश्चिमेली महिला वर्षौंदेखि पाठेघरको रोग लुकाउन बाध्य भएको सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीका संस्थापक अध्यक्ष भक्तबहादुर सिंहकाे भनाइ छ। रासस