डडेल्धुरा– डडेल्धुराको नवदुर्गा गाउँपालिकाको वडा नं ३ लाई जिल्लाकै पहिलो ‘घरमा हुने सुत्केरी शून्य वडा’ घोषणा गरिएको छ।
‘सम्पूर्ण गर्भवतीलाई नवदुर्गाको आह्वान, पूर्ण संस्थागत सुत्केरी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको हो।
घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदन्ड पूरा भएपछि वडालाई सोमबार एक कार्यक्रमबीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो। मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि नवदुर्गा गाउँपालिका–३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ।
गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकलअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिडी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएको लगायतका सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको नवदुर्गा गाउँपालिकाका स्वास्थ्य उपसंयोजक दीपेन्द्र विष्टले जानकारी दिए
गाउँपालिकाको वडा नं १ र ४ लाई पनि निकट भविष्यमै ‘घरमा हुने सुत्केरी शून्य वडा’ घोषणा गरिने उनले बताए। २४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेबको रुपमा काम गरेका गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले गाउँपालिकाका नागरिकको स्वास्थ्यप्रति आफू गम्भीर रहेको बताए।
स्वास्थ्य क्षेत्रमा चालू आर्थिक वर्षका लागि ७२ लाख बजेट छुट्याएको समेत उनले जानकारी दिए। सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्य संस्था, गाउँघर क्लिनिक भवन, तालिम हल मर्मत गर्न, स्वास्थ्यतर्फ भवन निर्माण लगायतका सबै भवन निर्माण कार्यका लागि उक्त बजेट छुट्याएको समेत अध्यक्ष विष्टले बताए।
‘घरमा हुने सुत्केरी शून्य वडा’ घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट, उपाध्यक्ष डम्बरी वली, स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईं लगायतको उपस्थिति रहेको थियो।