काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको मापदण्ड अनुसार ५० श्यया अस्पताल चलाएका कलेजलाई प्रवीणता प्रमाणपत्र तह (पिसिएल)का लागि बढीमा २० सिट मात्र दिन मिल्छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० बेडका अस्पताल भएका नर्सिङ कलेजलाई समेत नियमविपरीत ४० सिट दिन नेपाल नर्सिङ काउन्सिललाई दबाब दिएको छ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवको निर्देशनमा मन्त्रालयका उच्च तहका कर्मचारीले काउन्सिलका पदाधिकारीलाई नियमविपरित सिट निर्धारण गर्न दबाब दिएको मन्त्रालय स्रोत बताउँछ।
काउन्सिलको मापदण्ड अनुसार नर्सिङ कलेज चलाइरहेका कलेजका अस्पतालमा बिरामीको बेड अकुपेन्सी ६० प्रतिशतभन्दा माथि हुनुपर्छ। स्वास्थ्य राज्यमन्त्री यादवको समेत जनकपुरमा कलेज रहेको र उनको अस्पतालमा बेड अकुपेन्सी निकै कम रहेको काउन्सिलको अनुगमनमा फेला परेको थियो। राज्यमन्त्री यादवको अस्पतालको शय्या एक सय भए पनि काउन्सिलले मापदण्ड अनुसार अकुपेन्सी नभएपछि सिट घटाउने कुरा काउन्सिलमा उठेको थियो।
जनकपुरमा राज्यमन्त्री यादवको जानकी हेल्थ केयर एन्ड रिर्सच सेन्टर नामको कलेज र अस्पताल रहेको छ। उक्त कलेजले हालसम्म ४० जना विद्यार्थी पढाउने कोटा पाउँदै आइरहेको छ। तर, बेड अकुपेन्सी निकै कम भएपछि काउन्सिलले विद्यार्थी कोटा घटाएर २० मा झार्ने तयारी गरेपछि राज्यमन्त्री यादवले काउन्सिलका पदाधिकारीलाई दबाब दिन थालेका हुन्।
‘राज्यमन्त्री यादवले आफ्नो कलेजको सिट जोगाउन नियमविपरित ५० शय्या चलाएका अन्य कलेजलाई पनि ४० नै सिट दिनुपर्ने विषयमा दबाब दिएका छन्,’ मन्त्रालय स्रोतले भन्यो।
स्रोतका अनुसार राज्यमन्त्रीको तर्फबाट मन्त्रालयका सहसचिव डा दिपेन्द्र रमण सिंहले काउन्सिलका पदाधिकारीलाई दबाब दिएका हुन्। काउन्सिलका पदाधिकारीहरुले भने काउन्सिलले ५० शय्या भएका अस्पतालद्वारा सञ्चालित नर्सिङ कलेजलाई २० सिट मात्र पढाउन दिनुपर्ने अडानमा छन्।
२०६७ साल भन्दा अघि सञ्चालनमा रहेका ३७ वटा कलेजले ५० शय्याको अस्पताल भएपनि ४० सिट पढाउँदै आइरहेका छन्। त्यसयता खुलेका कलेजले भने २० सिट मात्र पाउँदै आएका छन्। काउन्सिलले आफ्नै मापदण्ड विपरित ३८ वटा कलेजले ४० सिट पाएको भन्दै यो पटकदेखि नियमअनुसार नै २० वटा मात्र सिट दिन खोजेको हो।
तर, राज्यमन्त्रीबाट नै दबाब आएपछि काउन्सिलका पदाधिकारीहरु भने अन्यौलमा परेका छन्। काउन्सिलका केही पदाधिकारी भने मापदण्ड अनुसार नै जानुपर्नेमा अडानमा छन्।
सिटिइभिटीको पनि दबाब
राज्यमन्त्री यादव मात्र होइन सिटिइभिटीले पनि आफूले यो शैक्षिक सत्रमा ४० सिट दिने भन्दै काउन्सिलाई पनि सोही अनुसार गर्न दबाब दिएको बताइएको छ। ‘सिटिइभिटीका पदाधिकारीले पनि काउन्सिललाई ४० सिट दिनुपर्छ भन्ने विषयमा दबाब दिइरहेको छ,’ काउन्सिल स्रोत भन्छ, ‘यता राज्यमन्त्रीको दबाब उता सिटिइभिटीको पनि दबाब। सिटिइभिटीबाट दबाब आउँदा शिक्षा मन्त्रीको पनि नाम जोडिएर आएको छ। यसरी त काउन्सिलले कसरी गुणस्तरीयता कायम गर्न सक्छ?’
पछिल्लो समय नर्सिङ शिक्षाको गुणस्तर कम हुँदै गएको भन्दै सर्वत्र आलोचना हुँदै आइरहेको छ। गुणस्तरमा प्रश्न उठ्न थालेपछि काउन्सिलले ५० बेड भएका अस्पतालद्वारा सञ्चालित कलेजलाई २० सिट र बेड अकुपेन्सी कम भएका र विद्यार्थी अनुपातमा शिक्षक कम भएका कलेजको सिट संख्या घटाउने तयारी गरेको छ।
अनगुमन गरी मापदण्ड नपुगेका कलेजको सिट घटाउन सक्ने अधिकार काउन्सिललाई छ। तर, विभिन्न राजनीतिक दबाबका कारण कार्यान्वयन गर्न भने चुनौती देखिएको काउन्सिलका एक पदाधिकारीले जानकारी दिए।
‘स्थलगत अनुगमन र निरीक्षणपछि काउन्सिलले मापदण्ड नपुगी सञ्चालन भएका कलेजहरूको विद्यार्थी सिट संख्या कटौती गर्नेबारे छलफल अगाडि बढाएको छ,’ काउन्सिलका एक सदस्यले भने, ‘तर सबैतिरबाट दबाब आउन थालेपछि कार्यान्वयनमा चुनौती देखिएको छ।’
केही समयअघि ५० बेड भएका अस्पतालद्वारा सञ्चालित १२ कलेजले अन्याय भएको भन्दै ४० सिटको मागसहित मन्त्रालयमा उजुरी समेत हालेका थिए। यो विषयमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनका विषयमा अध्ययनको काम भइरहेको मन्त्रालयले जनाएको छ।
यी हुन् ४० सिट चलाउने ५० बेडका अस्पताल
१. एड्भान्स स्टडिज अफ हेल्थ साइन्स (बुटबल अस्पताल, रुपन्देही)
२. अग्रिम एकेडमी प्रालि लहान, सिरहा (फ्रेन्डसिप अस्पताल)
३. बालकुमारी कलेज, चितवन (नेसनल सिटी अस्पताल)
४. भक्तपुर टे«निङ सेन्टर, भक्तपुर (कोरिया नेपाल फ्रेन्डसिप अस्पताल)
५. चक्रवर्ती हबी एजुकेसन एकेडेमी, भक्तपुर (गणेशमान अस्पताल)
६. चितवन एकेडेमी फर टेक्निकल एजुकेसन, चितवन (चितवन मोडेल अस्पताल)
७. दोलखा मल्टी सेक्टरल टे«निङ, दोलखा (दोलखा सामुदायिक अस्पताल)
८. हिमालयन प्यारामेडिक्स इन्स्टिच्युट, ओखलढुंगा (मिसन अस्पताल)
९. होली भिजन नर्सिङ कलेज, काठमाडौं (हिमाल हस्पिटल एन्ड रिसर्च सेन्टर)
१०. वेस्टर्न हस्पिटल नर्सिङ क्याम्पस, नेपालगन्ज (वेस्टर्न हस्पिटल एन्ड रिसर्च सेन्टर)
११. कालीगण्डकी अस्पताल, कास्की (कालीगण्डकी अस्पताल)
१२. कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, परासी (मनकामना अस्पताल)
१३. काठमाडौं नर्सिङ क्याम्पस, काठमाडौं (काठमाडौं अस्पताल)
१४. कुमारी कम्युनिटी एएनएम टे«निङ सेन्टर, परासी (भरतपुर अस्पताल)
१५. मदन भण्डारी मेमोरियल एकेडेमी, मोरङ (भद्रपुर अस्पताल)
१६. मेची टेक्निकल ट्रेनिङ एकेडेमी, झापा (मेची अञ्चल अस्पताल)
१७. मकवानपुर टेक्निकल इन्स्टिच्युट, मकवानपुर (हेटौंडा अस्पताल)
१८. मनकामना नर्सिङ कलेज चितवन, (मौलाकालिका अस्पताल)
१९. मेडिकल इन्स्टिच्युट लहान, सिरहा (सप्तऋषि अस्पताल)
२०. नारायणी मेडिकल एन्ड टेक्नोलोजी नर्सिङ कलेज, मकवानपुर (हेटौंडा अस्पताल)
२१. नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौं (स्तुपा अस्पताल)
२२. नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, काठमाडौं ( ग्लोबल अस्पताल)
२३. ओम समाज शैक्षिक प्रतिष्ठान, काठमाडौं (नेपाल प्रहरी अस्पताल)
२४. अक्सब्रिज टेक्निकल कलेज, रुपन्देही (लुम्बिनी सिटी अस्पताल)
२५. पद्मा नर्सिङ होम स्कुल अफ नर्सिङ, कास्की (पद्मा नर्सिङ होम)
२६. पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट, सुनसरी (सुरक्षा अस्पताल)
२७. पब्लिक टेक्निकल इन्स्टिच्युट, सिरहा (लहान अस्पताल)
२८. राप्ती लाइफ केयर अस्पताल, दाङ (राप्ती उपक्षेत्रीय अस्पताल)
२९. सगरमाथा टेक्निकल इन्स्टिच्युट, मोरङ (इनरुवा जिल्ला अस्पताल)
३०. शारदा इन्स्टिच्युट अफ टेक्नोलोजी, धनुषा (जलेश्वर अस्पताल)
३१. श्री मेडिकल एन्ड टेक्निकल कलेज, चितवन (पुष्पाञ्जली अस्पताल)
३२. सुनसरी टेक्निकल स्कुल, सुनसरी (विजयपुर अस्पताल)
३३. सुर्खेत एजुकेसन डेप्लोपमेन्ट एकेडेमी, सुर्खेत (मध्यपश्चिम क्षेत्रीय अस्पताल)
३४.टेक्निकल टे«निङ सेन्टर, सिन्धुली (सिन्धुली जिल्ला अस्पताल)
३५.तम्घास टेक्निकल स्कुल, गुल्मी (गुल्मी अस्पताल)
३६.त्रिशूली मेडिकल इन्स्टिच्युट, नुवाकोट (त्रिशूली अस्पताल)
३७. विनायक कलेज अफ हेल्थ साइन्स, काठमाडौं (विनायक हस्पिटल एन्ड म्यार्टनिटी होम प्रालि)
यो पनि :
नर्सिङ शिक्षामा बेथिति–१: ओखलढुंगा नर्सिङ क्याम्पसको ६० प्रतिशत कोटा भागवन्डामा, सर्वसाधारण पढ्नबाट बञ्चित हुँदै