सुनसरी– इटहरी अस्पतालमा २४ घन्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उद्घाटन गरेका छन्।
कार्यक्रममा मन्त्री घिमिरेले इटहरी, इटहरी आसपास र पहाडी जिल्लाका बासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने बताए। उनले इटहरी अस्पतालको स्तरोन्तिका लागि प्रदेश सरकारको चासो र सरोकार रहने प्रतिवद्धता व्यक्त गरेका थिए।
प्रदेश सांसद लिलम बस्नेत, संविधानसभाकी सांसद अनिता परियार, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम, नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेल, वडाध्यक्ष भुपेन्द्र वराल लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्ष रहेका इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीको विकास र समृद्धिले केही समयमै नयाँ उचाई लिने दावी गरे।
कार्यक्रममा इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले इटहरी अस्पतालबाट गत वर्ष ३७ हजार २९ जनाले सेवा लिएकोले इमरजेन्सी सेवा सेवाग्राहीको आवश्यकता भएको बताए।
अहिले इसिजी, एक्स–रे नेवुलाइजेसन सेवा सहित एक कार्डियाक मोनिटर सहित ५ वटा वेड सुविधाको इमरजेन्सी सेवा सञ्चालनमा ल्याइएको इमरजेन्सी इन्चार्ज धमलाले बताए।