काठमाडौं- नेपाली औषधि बजारमा नयाँ औषधि उत्पादन गर्ने कम्पनीका रुपमा चिनिएको म्याग्नस फर्मा प्रालीले १० औं वार्षिकोत्सव मनाएको छ।
म्याग्नसले आफ्ना बहालवाला र पूर्व कर्मचारीलाई राजधानीमा बोलाएर १० औं वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवमा म्याग्नसले औषधि निर्यातका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ।
म्याग्नसका प्रबन्ध निर्देशक प्रेमकुमार जाटियाका अनुसार म्याग्नसले औषधि निर्यातको वातावरण बनाउन नयाँ सफ्टवेयर बनाएर काम अगाडि बढाउनुका साथै विज्ञ प्राविधिकलाई भित्र्याइसकेको जानकारी पनि दिए।
म्याग्नसले नेपालमा विभिन्न ५ वटा मल्युक्युल र ३१ वटा औषधि नेपालमा नै पहिलो पटक उत्पादन गरेको हो। म्यागनसले मधुमेह, मस्तिष्कघात जस्ता रोगका लागि नयाँ औषधि उत्पादन गरेको हो।
सन् २००९मा ७८ जना कर्मचारीसहित १२ थरी औषधिबाट उत्पादन सुरु गरेको म्याग्नसमा अहिले २ सय ५० भन्दा बढी कर्मचारी कार्यरत छन्। हाल कम्पनीले एक सय भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आइरहेको छ।
विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) मापदण्ड अनुसार औषधि उत्पादन गर्दै आएको कम्पनीले समयअनुसार आफूलाई थप विस्तार गर्दै लगिरहेको जाटियाले जानकारी दिए।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि जेष्ठनागरिक समाजका अध्यक्ष डा गौरीशंकर लाल दासले नयाँ र गुणस्तरीय औषधि उत्पादन गरेर म्याग्नसले भारत लगायत अन्य देशको परर्निभरता हटाउन सहयोग गरेको बताए। उनले कम्पनीले नयाँ उत्पादनमा हात हालेर धेरैको विश्वास जित्न सफल भएकोमा प्रशंसा पनि गरे।
औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने नीति लिएको जानकारी दिए। उनले म्याग्नसलाई एचआइभी, क्यान्सर जस्ता औषधि उत्पादनमा पनि हात हाल्न सुझाब दिए।