काठमाडौं– नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
अस्पतालको स्वतन्त्र कर्मचारी युनियनको अगुवाईमा कर्मचारीहरुले गत बुधवार देखि कालो पट्टी बाँधेर विरोधका कार्यक्रम गरेका थिए । शनिबारसम्म कालो पट्टी बाँधेर धर्ना बस्ने आन्दोलनरत कर्मचारीले बताएका छन्।
अस्पतालले कर्मचारीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरुले १० बुदेँ माग राख्दै आन्दोलन सुरु गरेका हुन्।
उनीहरुले माग पुरा नभए चरणबद्ध आन्दोलन गर्दै साउन १९ देखि २० गते प्रशासन घेराउ गर्ने र २१ गते कार्यकारी तथा फाउण्डेसनका सदस्यको सवारी साधन रोकेर विरोध जनाउने कार्यक्रम सार्वजनिक गरेका छन्। माग पुरा नभए बहिरङ्ग सेवा बन्द गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन्। तलब वृद्धि नगरेको, नियमावली संशोधन नगरेको लगायतका आरोप कर्मचारीहरुले लगाएका छन्।
मागहरु
- कर्मचारी युनियनसँग विगतमा पटक–पटक भएका सम्झौताहरु तुरुन्तै कार्यान्वयन गर्नुपर्ने,
- नेपाल मेडिकल कलेज प्रालिमा निरन्तर १५ देखि २० वर्ष सम्म कार्यरत कर्मचारीहरुको २ महिना र २० वर्षदेखि माथि कार्यरत कर्मचारीहरुलाई ३ महिनाको अन्तिम खाइपाई आएको तलब माग हुनुपर्ने।
- श्रम ऐनअनुसार यस संस्थामा कार्यरत कर्मचारीहरुलाई आवास सुविधा अनिवार्य उपलब्ध हुनुपर्ने।
- २०५७ साल देखि २०६५ सालसम्म व्यवस्थापनद्धारा एकलौटी तर्फबाट काटिएको बीमा शुल्क बराबरको एकमुष्ट रकम उपलब्ध गराईनुपर्ने।
- नेपाल मेडिकल कलेज प्रालिमा हुने डेण्टल सेवा ,औषधिलगायत अन्य सम्पूर्ण सेवा, सुविधा मा १०० प्रतिशत छुटको व्यवस्थासहित यहाँ हुन नसक्ने उपचार अन्य ठाउँमा गरेको खण्डमा सोको विल भरपाई अनुसार उपलब्ध गराउनुपर्ने।
- यस संस्थामा कार्यरत कर्मचारीहरुको छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने एक एक जनालाई प्रत्येक शिक्षा संकायमा एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ लगाएत भविष्यमा संचालन हुने अन्य संकायमा समेत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने।
- आगामी साउन १ देखि लागु हुने गरी यस नेपाल मेडिकल कलेज प्रालिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलब भत्ता समयसापेक्ष वृद्धि गरिनुपर्ने।
- नियमावली २०६५मा उल्लेख भएअनुसार कार्यान्वयनमा ल्याउनुपर्ने।
- चालक तथा अन्य प्रशासनिक कर्मचारीहरु जसले प्राविधिक कार्य गरी रहेका छन् उनीहरुलाई प्राविधिक बनाउनु पर्ने।
- व्यस्थापकको प्रत्येक मिटिङमा आधिकारीक टे«ड युनियनका प्रतिनिधि उपस्थित गराइनुपर्ने।