काठमाडौं– मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी नेपालको तर्फबाट हार्ट हिरो २०१९ घोषित भएका छन्। नेपाल हृदयरोग निवारण प्रतिष्ठानले डा रेग्मीलाई मुटु उपचारको क्षेत्रमा योगदान गरेको भन्दै हार्ट हिरो घोषित गरेको हो।
विश्व मुटु महासंघले विश्वभर मुटुरोग रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले प्रत्येक देशको सदस्य संस्थाबाट एकजना यस क्षेत्रमा विशिष्ठ योगदान दिएका व्यक्तिलाई हर्ट हिरो–२०१९ घोषणा गर्ने र यि हार्ट हिरोहरुको विश्वव्यापी सञ्जाल बनाई मुटुरोग रोकथाम र नियन्त्रण अभियान चलाउने पहल गरेको छ।
यसै सन्दर्भमा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट डा रेग्मीलाई हार्ट हिरो २०१९ घोषणा गरेको हो। यो सम्मान पछि प्राडा रेग्मीले जेनेभामा रहेको विश्व मुटु महासंघले निर्माण गर्ने हार्ट हिरो सञ्जालमा रहि विश्वव्यापी रुपमा मुटुरोग रोकथाम अभियानमा सहभागी हुनेछन्।
गत साता एक विशेष समारोहबीच यस प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक, डा मृगेन्द्र राज पाण्डेले डा रेग्मीलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए।
प्राडा रेग्मीले विगत ३ दशक भन्दा बढी समय देखि नेपालमा मुटुरोगको रोकथाम, विशेष गरि बालबालिकाको मुटुलाई क्षति पुर्याउने बाथ मुटुरोगको रोकथाम तथा नियन्त्रण कार्यमा विशिष्ठ योगदान दिंदै आएका छन्। उनी हाल नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव साथै कार्यक्रम निर्देशक समेत हुन्।
वीर अस्पताल, मुटुरोग विभागका प्रमुखका रुपमा लामो समय कार्यभार सम्हाली हालै मात्र नेपाल सरकारको सेवाबाट स्वेच्छिक अवकास लिएका रेग्मीले मुटुरोग रोकथाम तथा समाज सेवाको क्षेत्रमा परिचित नाम हो।