काठमाडौं - फिजियो थेरापीका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यले नेपाल फिजियो थेरापी एण्ड रिह्याविलेशन सेन्टरको स्थापना गरिएको छ।
ललितपुर महानगरपालिका–९ बालकुमारीमा स्थापना गरिएको उक्त सेन्टरमा मेरुदण्ड भाचिएका, गर्धन तथा कम्मरको नशा च्यापिएको, पक्षघात, मस्तिष्क पक्षघात, पार्किन्सन रोग, बाथ रोगको विशेष उपचार आजदेखि शुरु गरिएको छ। विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्श, दुःखाई निर्मूल उपचार, हाडजोर्नी, नशा, मनोरोग, मधुमेह, थाइराइड, स्नायु, नाक, कान घाँटीलगायतको उपचार गरिने जनाइएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त सेन्टरको शुभारम्भ गर्दै संस्थाले सञ्चालनमा ल्याएको थेरापी सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सके यस क्षेत्रका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा प्राकृतिक, आयुर्वेद तथा भौतिक चिकित्साशास्त्रको महत्व रहेको उल्लेख गर्दै महानगरपालिकाले यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
सेन्टरका अध्यक्ष सहदेव व्यञ्जनकारले थेरापीमा कुनै दीर्घकालीन असर नहुने हुँदा यसको क्षेत्र फराकिलो बन्दै गएको बताए। डा तेञ्जीङ नोर्वु लामाले उक्त संस्थामा थेरापी सम्बन्धी दक्षजनशक्ति उत्पादन गर्ने, थेरापी सम्बन्धी उच्च अध्ययन र थप अनुसन्धानलाई अगाडि बढाउने लक्ष्य राखिएको जानकारी दिए।
करीब रु एक करोडको लागतमा निर्माण भएको उक्त सेन्टरमा एक महीनासम्म बिरामीलाई केही प्रतिशत छुटको व्यवस्था तथा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट गरिएको छ। रासस