भक्तपुर- भक्तपुर नगरपालिकाको अनुगमन समितिले आज सिद्धिस्मृति बाल अस्पताल र नगरपालिकाद्वारा सञ्चालन गरिएको जनस्वास्थ्य केन्द्र च्याम्हासिंहको अनुगमन गरेको छ।
समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले सिद्धिस्मृति बाल अस्पतालको अनुगमनका क्रममा ५० श्यया र कर्मचारी १८२ जना रहेकामा फोहरको अन्तिम व्यवस्थापन व्यवस्थित गर्नुपर्ने तथा म्याद नाघेका औषधि खाल्डोमा पुर्न नहुने सुझाव दिएको छ।
अस्पतालमा ओपिडी कक्षको उचाइ कम र बिरामी चाप बढी भई गर्मी र साँघुरो भएकाले सोको व्यवस्थापन गर्नुपर्ने, प्रसूति वार्डको आकस्मिक कक्ष सरसफाइ कमी देखिएकाले विशेष ध्यान दिनुपर्ने, वार्डका कोठामा बढी श्यया भई साँघुरो देखिएको व्यवस्थापन गर्नुपर्ने, पार्किङ व्यवस्थापन गर्नुपर्ने र अस्पतालमा बाढी पस्ने सम्भावना भएकाले सोको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको रामकृष्ण प्रजापतिले जानकारी दिए।
अस्पताल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले प्रत्येक भवन विभिन्न सङ्घसंस्थाको सहयोगमा बनेकाले भक्तपुरमा राम्रो आइसिय र एनआइसियु सञ्चालन भएको बताए। उनले शिक्षण अस्पतालको अनुसन्धान कक्षसमेत सञ्चालन गरेको, गरिबलाई निःशुल्क उपचार, नगरपालिका र अन्य अस्पतालसँग सहकार्य गरेर अगाडि बढे भक्तपुरमा स्वास्थ्य क्षेत्र राम्रो हुनेमा जोड दिए।
जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा आकस्मिक उपचार आठ श्यया र कर्मचारी ७० जना रहेकामा सरसफाइमा विशेष ध्यान दिनुपर्ने, ओपिडी र टिकट काउण्टरमा लाइनको व्यवस्थापन गर्नुपर्ने, हरेक विभागमा चिकित्सक तथा कर्मचारी अभाव, आकस्मिक कक्ष अति गर्मी भएकाले सोको व्यवस्थापन गर्नुपर्ने, ल्याब अपडेट गर्नुपर्ने तथा छुट्टाछुट्टै परीक्षण कोठा हुनुपर्ने, टिएलडी बाड्ज व्यवस्थापन गर्नुपर्ने र फोहरको पृथकीकरण हुनुपर्ने सुझाव दिइएको छ।
जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा रत्नसुन्दर लासिवाले विसं २०३० मा स्थापना भएकामा विशेषज्ञ डाक्टर १४ र जनरल डाक्टर १४ जना, घरदैलो नर्सिङ सेवा, म्याद नाघेका औषधि व्यवस्थापन गर्न समस्या देखिएको र वर्षमा रु तीन करोड घाटा भइरहेको जानकारी दिए। रासस