काठमाडौं - धुम्बाराहीस्थित ह्याम्स हस्पिटलले सोमबारदेखि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ। अस्पतालको छतमा रहेको हेलिप्याडबाट एयर एम्बुलेन्स सेवा सुरु गरिएको हो।
अस्पतालको छतमा रहेको हेलिप्याडलाई नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टैण्डर्ड विभाग सिनामंगलले सोमबार नै अनुमति दिएको हो। अनुमति पाएलगत्तै अस्पतालको छतमा नवनिर्मित हेलिप्याडमा एयर डाइनेष्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्बुलेन्स सेवा शुरु गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, वरिष्ठ कार्डियोभास्कुलर सर्जन प्राडा भगवान कोइराला, वरिष्ठ फिजिसियन प्राडा अर्जुन कार्की, अस्पतालका अध्यक्ष युवा उद्यमी रामशरण भण्डारी र अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा भास्कर राज पन्तले एयर एम्बुलेन्स ससेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
नेपालको भौगोलिक अवस्था अनुकूल छिटो र छरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले दिवा सेवाको रुपमा अहिले १२ घण्टा एयर एम्बुलेन्स सेवा सुरु गरेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए।
हेलिकोप्टर एयर एम्बुलेन्स सेवामा विगत ७ वर्षदेखि सक्रिय डा संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट बिरामी ल्याउन एयर एम्बुलेन्सको रुपमा सेवा बिस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए।
हेलिप्याडसहितको स्वास्थ्य उपचारले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको डा भगवान कोइरालाले बताए।