चितवन -प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ। गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका छन्। तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको सङ्ख्या बढ्दो छ। प्रसूतिगृह पछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन्।अघिल्लो आवमा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आव २०७३÷७४ मा यो सङ्ख्या १२ हजार ९८० रहेको थियो।
त्यसैगरी गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिए विगतका वर्षहरुमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ । अस्पतालमा आउने बिरामीको सङ्ख्या धेरै रहेको छ। विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ।
सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो सङ्ख्या पाँच रहेको थियो। जन्मिएपछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो। उनका अनुसार अघिल्लो आवमा यो सङ्ख्या २७ रहेको थियो।
अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार ठूलो सङ्ख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुने गरेको छ। यो सङ्ख्या राष्ट्रिय रुपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उहाँले जानकारी दिए। अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबै तिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ।
बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीहरुको हुने चिकित्सकहरु बताउँछन्। भरतपुर अस्पतालमा ३५ वर्षदेखि प्रसुती विभागमा काम गरेका अनुभवी कर्मचारी रहेका छन्। पोख्रेलका अनुसार प्रसूति कक्ष (लेवर रुम) मा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरु चौबिसै घण्टा उपलब्ध हुने गरेका छन्। अस्पतालमा १० जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन्।
पोख्रेलका अनुसार छिमेकी मेडिकल कलेज, क्यान्सर अस्पताल र अन्य अस्पतालहरुका चिकित्सकले पनि आफ्ना आफन्तहरु प्रसूति गराउन भरतपुर अस्पताल नै ल्याउने गर्दछन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दक्ष जनशक्ति, चौबिसै घण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए।
अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीले बताए । अस्पतालमा नै देशभरका नर्सहरुलाई तालिम दिने केन्द्र रहेको भन्दै उनले यहाँका दक्ष नर्सिङ कर्मचारीका कारण प्रसूतिमा थप सहजता आएको बताए।
सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्रपछि सम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ। महिलाले सुत्केरी हुनुअघि कम्तीमा चार पटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ। परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको उनको भनाइ छ। नयाँ भवन भएसँगै सबै व्यवस्थित हुने उहाँले जानकारी दिए। अस्पतालको शिशु सघन उपचार कक्ष १२ श्ययाको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर श्ययाको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने बाध्यता रहेको छ।रासस