चितवन- पूर्वी चितवनमा रहेको सरकारी बकुलहर रत्ननगर अस्पतालमा भदौबाट बिरामी भर्ना सुविधा दिइने भएको छ। पन्ध्र श्ययाको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो। अस्पतालमा स्थानीयवासीले धान्याञ्चल महायज्ञ लगाएर निर्माण गरेको एउटा भवन रहेको छ।
यसैगरी शान्ति मेड नामक गैरसरकारी संस्थाका डा रुथले हालै रु ६ करोड लगानी गरेर अर्काे भवन बनाइदिएका छन्। चर्मरोग विशेषज्ञ डा रुथको नेतृत्वमा अन्य दुई चिकित्सकबाट अस्पतालमा छालाको बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ। दैनिक छालाका मात्रै एक सय बिरामी उपचारका लागि आउने गरेको डा बगालेको भनाइ छ।
यससँगै दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालले ४५ जनाको मिर्गाैलाको डायलासिससमेत गर्दै आएको छ। अस्पतालमा प्रसूति सेवासमेत सञ्चालन हुँदैआएको छ। मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको अस्पतालले जनाएको छ।
नवजात शिशु उपचार केन्द्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको डा बगालेले बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पहल गरिएको बताए। यस सम्बन्धमा नगर कार्यपालिका बैठकले निर्णय गरी प्रदेशमा पेश गरेको र विभागीय मन्त्रीले निरीक्षणसमेत गरिसकेको उनले जानकारी दिए।
कम्तीमा ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति गरी पूर्वी चितवनका जनतालाई सेवा दिलाउन नगरपालिका लागिपरेको उनको भनाइ छ। सो क्षेत्रमा रत्ननगरसँगै खैरहनी, राप्ती र कालिका नगरपालिका रहेका छन्। सो अस्पताललाई विस्तार गर्न सके पूर्वी चितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा विरामीको चाप घट्ने अपेक्षा गरिएको छ। रासस