हेटौँडा- मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ। हालसम्म डेङ्गुका बिरामीको सङ्ख्या बढेर १२४ पुगेको छ।
साउन १० गते यहाँ डेङ्गुको सङ्क्रमण देखिएको थियो। डेङ्गुबाट जोगिन लामखुट्टे नियन्त्रणको आवश्यकता छ। सरसफाइ तथा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहले जानकारी दिए। बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरीलगायत डेङ्गुबाट प्रभावित छन्।
डेङ्गुबाट सबैभन्दा बढी प्रभावित हेटौँडा उपमहानगरपालिका–४ मा बृहत् सरसफाइ तथा डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरिएको उपमहानगरपालिका जनस्वास्थ महाशाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए। डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान तीव्र पारिएको छ।
नियन्त्रणमा नआएपछि प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य निर्देशनालयले डेङ्गु रोगको अवस्था र यसको नियन्त्रणको प्रयासबारे बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेभएको छ। रासस