हुम्ला– दुई दिनदेखि सुत्केरी व्यथाले गाउँमै छटपटइरहेकी महिलाको उद्धार गरिएको छ। मंगलबार ७ बजेदेखि सुत्केरी व्यथाले छटपटाएकी चंखेली गाउँपालिका– १ बोहोराबाडाकी २७ वर्षीया लक्ष्मी बोहोराको उद्धार गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष लालकेश जैसीको समन्वय र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा सुत्केरी महिलाको उद्धार गरिएको हो।
राष्ट्रपति महिला उद्धार कार्यक्रमद्वारा नेपाली सेनाको हेलिकोप्टरबाट सुत्केरी व्यथाले छटपटाइरहेकी बोहोराको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जाकारी दिएकी छन्।
प्रजिअ भट्टराईले महिला मन्त्रालयमा खबर गरेर सोही मन्त्रालयलले नेपाली सेनासँग समन्वय गरी सेनाको हेलिकोप्टरले नि:शुल्क उद्धार गरेर बोहोराको ज्यान बचाउन सफल बताइन्।
बुधबार साँझ सुर्खेतमा रहेको प्रदेश अस्पातालमा सुत्केरीको सकुशल डेलिभरी भएको बोहोराका श्रीमान् नरवीर बोहोराले बताए। २ सय ७० ग्रामको शिशु जन्मेको छ।
हुम्ला जस्तो दुर्गम जिल्लाका स्वास्थ्यचौकीमा कहिले स्वास्थ्यकर्मी नहुने त कहिले पर्याप्त मात्रामा औषधि नहुने समस्याले सुत्केरी व्यथा लागेका महिलाले अकालमा ज्यान गुमाउनु परेको छ। जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा स्वास्थ्यर्मी नबस्ने र स्थानीय तहले यस विषयमा चासो नदिँदा बिरामीले सास्ती भोग्न बाध्य छन्।