काठमाडौं- मेडिसिटी अस्पतालमा बिना शल्यक्रिया प्रोस्टेट समस्याको उपचार सुरु भएको छ। प्रोस्टेटिक आर्टरी इम्बोलाईजेशन प्रविधिबाट अस्पतालमा एक बिरामीको उपचार सफल भएको हो।
अस्पतालले उक्त प्रविधिबाट उपचार नेपालमा नै पहिलो पटक मेडिसिटीमा सुरु भएको दाबी गरेको छ।
यो प्रविधिबाट शारिरीक समस्याका कारण शल्यक्रिया गर्न चुनौतीपूर्ण भएका मुत्ररोगीहरुको उपचार शल्यक्रिया बिना नेपालमै पहिलो पटक नेपाल मेडिसिटीमा शुरु भएको अस्पतालले जनाएको छ।
अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले अस्पतालमा ७५ वर्षिय पुरुषमा पहिलो पटक प्रोष्टेट आर्टरी इम्बोलाइजेसन गरेका हुन्। नेपाल बाहिरका थुप्रै अस्पतालमा शल्यक्रियाको विकल्पका रुपमा प्रचलित यस पद्धतिबाट सफल उपचार भएको अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा ओम बिजु पन्तले जानकारी दिए।
प्रोष्टेट ग्रन्थीलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी प्रोष्टेटलाई निष्क्रिय पार्ने यो पद्धतीलाई प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन भनिन्छ। मंगलबार करिब १ घण्टा लगाएर गरिएको यो प्रक्रिया पश्चात बुधबार बिरामीलाई डिस्चार्ज गर्न समेत सफल भएको डा पन्तले बताए।
बेनाइन् प्रोष्टेटिक हाइपरप्लासीया अर्थात प्रोष्टेट ग्रन्थी बढ्ने समस्या भएका व्यक्तिलाई अपनाइएको यो पद्धतिले कम्मर र तीघ्रा बिचको भागमा सानो प्वाल बनाइ प्रोष्टेट ग्रन्थीमा रक्तसञ्चार रोक्ने काम गर्दछ।