काठमाडौं- मेडिकल ल्याबोरेटरी एसोसिएन अफ नेपालले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अवैज्ञानिक तथा अस्वभाविक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गरेको छ।
मेलानका पदाधिकारीले ऐन र कानुन अनुसार पदस्थापन र समायोजन नभएको भन्दै स्वास्थ्य सचिव रामप्रसाद थपलियालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। अदालतको फैसला अनुसार पदनाम नभएको भन्दै मंगलबार उनीहरुले पत्र बुझाएका हुन्।
विभिन्न तहमा कार्यरत कर्मचारीहरुको विद्यमान ऐन कानुन बमोजिम पदनाम नभएको, मन्त्रालयको नीतिगत निर्णय अनुसार विशेष पदस्थापन समेत गरिनुका साथै कर्मचारीहरुको पदनाम घटुवा गरी आधारपदकै पदनाम राखि समायोजन गर्न लागेको प्रति मेलानले आपत्ति व्यक्त गरेको हो।
उनीहरुले मंगलबार मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। पत्रमा उनीहरुले अदालतको फैसला अनुसारको पदनाम नभएको भन्दै आपत्ती समेत जनाएका छन्।
समायोजन एकतर्फी रुपमा विद्यामान ऐन कानुन विपरित हुन गएको र समायोजन भई रोजेको ठाँउमा गएर सेवा गर्न आतुर कर्मचारीको आत्मसम्मानमा ठेस पुगेको उनीहरुको गुनासो छ।
स्वास्थ्य सचिव थपलियाले गलत भएका कुरामा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर सच्याउने बताए।
मेलानका अध्यक्ष राजेन्द्र खड्काले पटक पटक ध्यानाकर्षण गराउदा मन्त्रालय संवेदनशिल नभएको भन्दै आक्रोश व्यक्त गरे।
