झापा, साउन ३१ । पकंज शर्मा
मेची अंचल अस्पताललाई मेडिकल कलेजसहितको प्रादेशिकस्तरीय अस्पतालमा स्तोरन्नति गर्न अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिले शुक्रवार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अस्पतालमै बहस तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश १मा मेची र कोशी दुई वटा अञ्चल अस्पताल रहेका छन् । संघीय सरकारले कोशी अस्पताललाई आफ्नै मातहातमा राख्दै मेची अस्पातललाई प्रदेश सरकारको मातहतमा राखेको छ । कोशी अस्पताल संघीय सरकारले हेर्न भएपछि प्रदेश सरकारले अञ्चलकै ठूलो अस्पताल मेचीलाई प्रादेशिकस्तरको अस्पताल बनाउने छलफल सुरु गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मेचीलाई मेडिकल कलेजसहित प्रादेशिकस्तरको अस्पताल बनाउने बिषयमा प्रदेश सरकार तयार रहेको उल्लेख गरेका छन् । प्रदेश सरकारको मताहतमा रहेको यस मेची अञ्चल अस्पतालमा स्तरीय सेवा प्रदान गर्नुका साथै मेडिकल कलेजको अवधारण लिएर अघि बढनु पर्ने छलफल कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।
करिब ६ विगहा क्षेत्रफलमा रहेको मेची अस्पतालको स्थापना वि.संं. २०१५ सालमा भएको हो । त्यसैले प्रदेश सरकारले अव मेची अस्पताललाई मेडिकल कजेलको अवधारणका साथ अघि बढाउन आवश्यक रहेको प्रदेश सांसद झलकसिंह दर्लामीले बताए । विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, नेकपामा नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, नगरका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, राप्रपाका नगर अध्यक्ष राधा कार्की, नेकपाका जिल्ला सदस्यहरु घनश्याम खनाल, असारु राजवंशी, अरुण श्रेष्ठ, अस्पताल विकास समितिका पूर्व अध्यक्षहरु पुष्पराज पोखरेल, जेपी शर्मा, छत्रप्रसाद अधिकारी, ८ नम्बर वडा अध्यक्ष मनोज सुब्बा लगायतले आआफ्नो सुझाव राखेका थिए ।