काठमाडौं– छामेर स्तन क्यान्सर पत्ता लगाउन दृष्टिविहीन महिलालाई प्रशिक्षण दिन लागिएको छ। नेपालमै पहिलो पटक नख्खुस्थित मेडिसिटी अस्पतालले दृष्टिविहीनलाई छामेर स्तन क्यान्सर पत्ता लगाउन प्रशिक्षण दिन लागेको हो।
डिस्कभरिङ ह्यान्ड्सले दृष्टिविहीन महिलालाई क्लिनिकल रुपमा स्तन क्यान्सर प्रशिक्षण प्रदान गर्दैआएको छ, जसका कारण स्तन क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागाउन सकिन्छ।
स्तन क्यान्सरको प्रारम्भिक खोज र उपचार पद्धतिमा दृष्टिविहीन महिलाको हातको क्षमतालाई प्रयोग गर्दै हुनसक्ने क्यान्सर पहिचान गर्न सहयोग पुग्ने डिस्कभरिङ ह्यान्ड्सका संस्थापक डा फ्र्यान्क हफम्यानले बताएका छन्।
डा फ्र्यान्कका अनुसार दृष्टिविहीनको शरीरमै अद्भूत शक्ति रहने र यही शक्तिको उपयोगले स्तन क्यान्सर परीक्षणमा सहयोग पुग्ने छ।
कार्यक्रममा सहभागी सेन्टर फर ब्लाइन्ड ओमन एन्ड डिस्याबिलिटी स्टडिज युनिटी अफ नेसनल एसोसिएसन फर द ब्लाइन्डकी निर्देशक सालिनी खन्ना भन्छिन्, ‘जुनसुकै उमेरका महिलालाई जुनसुकै समयमा स्तन क्यान्सर हुनसक्छ। व्यक्ति स्वयंलाई थाहा हुँदा ढिला भइसकेको हुनसक्छ। जसका कारण उपचारमा समस्या आउन सक्छ।’
स्तन क्यान्सर छ या छैन भनेर छिटो, छरितो र सुलभ तरिकाबाट बिना मेसिन परीक्षण गर्न सकिने हुँदा यो सेवा अति नै प्रभावकारी रहेको छ उनले बताइन्।
भारतमा दृष्टिविहीनले कसरी स्तन क्यान्सर पत्ता लगाउन सक्छन् भनेर सुरुमा डाक्टरदेखि सर्वसाधारणलाई एक किसिमको शंका उत्पन्न भएको थियो। तर दृष्टिविहीनले स्तन क्यान्सरमा गरेको परीक्षण विस्तारै प्रभावकारी भएपछि अहिले भारतमा यसको सकारात्मक प्रतिक्रिया आएको छ।
खन्नाले स्तन क्यान्सर कसरी पत्ता लागाउने भन्ने विषयमा दृष्टिविहीनले ६ देखि ९ महिना प्रशिक्षण लिएर विभिन्न अस्पतालमा इन्टर्नसिप गरेपछि मात्रै उनीहरु योग्य हुने बताइन्।
सिइङ हेन्डस नेपालका म्यानेजर चिरन पौडेल भन्छन्, ‘नेपालमा दृष्टिविहीनका लागि एउटै जागिर भनेको शिक्षण पेसा मात्रै हो कि जस्तो लाग्ने गथ्र्यो। तर आज हामीलाई छुट्टै खुसी लागेको छ, किनकी मेडिकल क्षेत्रमा दृष्टिविहीन पनि सक्षम छन् भन्ने प्रमाणित भएको छ। यो दृष्टिविहीन महिलाका लागि रोजगारीको सुनौलो अवसर पनि हो।’
मेडिसिटी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा अपूर्व शर्माका अनुसार नेपालमा अझै पनि धेरै महिलालाई स्तन क्यान्सरको बारेमा थाहा छैन। म्यामोग्राफी टेस्टबारे थाहा छैन। स्तनमा गाँठागुँठी आए पनि जाँच गर्न जान लाज मान्छन्। महिलाले जाँच गर्न जाँदा त्यो लाजको पर्खाल भत्काउनमा दृष्टिविहीनको ठूलो भूमिका रहन्छ। जसले जाँच गराउन आउने महिलालाई कुनै प्रकारको असजिलो महसुस हुँदैन।
सामान्य मानिसमा भन्दा दृष्टिविहीनमा महसुस गर्ने शक्ति बढी हुने हुनाले पनि स्तन क्यान्सर पहिचानमा सजिलो हुने डा शर्मा बताउँछन्।
उनले भने, ‘स्तनमा भएका ससाना समस्या पनि अरुले भन्दा दृष्टिविहीनले सजिलै थाहा पाउने हुनाले पनि यो कार्यक्रम प्रभावकारी हुनेमा विश्वस्त छौं।’
मेडिसिटी अस्पताले १८ जना दृष्टिविहीनलाई यो कार्यक्रममा सहभागी गराएर प्रशिक्षण दिन सुरु गरेको हो।