काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका सचिव खगराज बरालले जिम्मेवारी सम्हालेका छन्।
सचिव बरालले सोमबार बिहान मन्त्रालयमा पुगेर आफ्नो पदवहाली गरेका हुन्। सरकारले उनलाई शिक्षा मन्त्रालयबाट स्वास्थ्यमा सरुवा गरेको थियो।
पदवहालीपछि मन्त्रालयको हलमा आयोजित कार्यक्रममा सचिव बरालले सबै पक्षको ख्याल गर्दै अगाडि बढ्नु पर्ने बताएका छन्। उनले सचिवको पद असनको भीडमा हिँडेजस्तै भएको बताउका छन्।
‘असनको भीडमा हिँड्दा जति चनाखो र सचेत हुनुपर्छ सचिवको पदमा बसेपछि पनि त्यस्तै हो,’ उनले भने, ‘भीडमा हिँड्दा सबैपक्षलाई हेरेर हिँड्नुपर्छ। त्यहाँ जसरी अरुलाई ठोक्किएला, कुल्चियला भनेर चनाखो हुनुपर्छ सचिवको पद पनि त्यस्तै हो।’
उनले मन्त्रालयका सबै कर्मचारीको साथ र सहयोग भएमा नतिजा निकाल्न सकिने पनि बताए।
बराल स्वास्थ्य मन्त्रालयमा एक वर्षको अवधिमा चौँथो सचिवका रुपमा प्रवेश गरेका छन्। स्वास्थ्य मन्त्रालयमा पछिल्लो ९ महिनाको अवधिमा प्रशासन तर्फका तीन जना सचिव काम गरेर सरुवा भइसकेका छन्।
मन्त्रालयमा स्वास्थ्य सेवा र प्रशासन तर्फ दुई जना सचिव छन्। स्वास्थ्य तर्फ डा पुष्पा चौधरी सचिवका रुपमा कार्यरत छिन्। तर, स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनको अधिकार कटौती गर्दै प्रशासन तर्फका सचिवलाई दिएका छन्।