चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि अब लामो सयमसम्म कुर्न नपर्ने भएको छ। हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार यसअघि बिहान र बेलुका मात्र रिपोर्ट दिने व्यवस्था थियो। बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट दिइँदै आएकामा दुई–दुई घण्टाको फरकमा रिपोर्ट दिन थालिएको उनले जानकारी दिए। परीक्षणका लागि लामो समय कुर्नुपर्ने नमूना बाहेक तत्काल परीक्षण गर्न सकिने नमूनाको रिपोर्ट तत्कालै दिन शुरु गरिएको हो।
यसैगरी उक्त अस्पतालले आजदेखि नयांँ भवनबाट आकस्मिक सेवाका लागि प्याथोलोजी सेवा पनि दिन थालेको छ। प्याथोलोजी विभाग टाढा भएको र सबै परीक्षण त्यही हुने भएकाले आकस्मिक सेवाको लागि पनि कुर्नुपर्ने बाध्यता थियो।
कार्यकारी निर्देशक आचार्यका अनुसार आकस्मिक सेवालाई बिरामी भर्ना भएको भवनबाटै सेवा दिँदा छिटो र छरितो हुने भएकाले सोको व्यवस्था गरिएको हो।
अस्पतालका प्याथोलोजिष्ट डा. रञ्जनराज भट्टका अनुसार आकस्मिक सेवाअन्तर्गत ‘युरिया क्रेटीनियन, सोडियम, पोटासियम, हेमोग्लोबिन, प्लेटलेट्स, डब्लुबीसी काउण्ट’जस्ता परीक्षण आकस्मिक सेवाबाटै दिइनेछ। अन्य सबै परीक्षण प्याथोलोजी विभागबाट हुने उनले जानकारी दिए। हाल ४४३ श्यया सञ्चालनमा रेहेको सो अस्पतालमा नेपालभर र भारतबाट पनि उपचारका लागि बिरामी आउने गर्दछन्। रासस