म्याग्दी- बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्यचौकीमा प्रसूति केन्द्र(बर्थिङ सेन्टर) स्थापना गरिएको छ। गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ। अस्पताल पुग्न नसक्ने आर्थिकरूपमा विपन्न समुदायका गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष टेकबहादुर रावलले बताए।
“मातृ शिशु मृत्युको जोखिम घटेको छ”, वडाध्यक्ष रावलले भने, “नगरपालिकाको सहयोगमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेपछि प्रसूति केन्द्र सञ्चालन भएको हो।” वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसूति केन्द्र स्थापनाका लागि भवन र उपकरणको व्यवस्थापन गरेको छ। “बर्थिङ सेन्टरका लागि बनाइएको भवन साँघुरो भएकाले त्यहाँ कार्यालय र विपद् व्यवस्थापनका लागि बनेको भवनमा बर्थिङ सेन्टर स्थापना गरिएको हो”, उनले भने, “बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने सबै उपकरण खरीद गरिएको छ।”
गत आर्थिक वर्ष २०७५/७६ मा बर्थिङ सेन्टरको भवनलाई रु एक लाख, विपद् व्यवस्थापनको भवनलाई रु पाँच लाख र उपकरण खरीद गर्न रु एक लाख बजेट विनियोजन गरिएको थियो। तालीमप्राप्त जनशक्ति भए पनि पूर्वाधार र उपकरण नहुँदा प्रसूति सेवा सञ्चालन हुनसकेको थिएन। स्वास्थ्यचौकीमा हाल एक तालीमप्राप्त स्वास्थ्यकर्मी भएका र नगरपालिकाले थप एक कर्मचारी खटाएपछि चौबीसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गर्न सकिने स्वास्थ्यचौकीका प्रमुख दिनेश जिसीले जानकारी दिए। उनका अनुसार रत्नेचौरमा सुत्केरी हुनेको सङ्ख्या वार्षिक सरदर ५० जना छ।
उनीहरु यसअघि सुत्केरी हुन बेनी, बागलुङ, कुश्मा र पोखराका अस्पताल जाने गरेका थिए। प्रसूति हुनका लागि लाखौँ खर्च हुने गर्दथ्यो। कमजोर आर्थिक अवस्था भएका गर्भवती घरमै असुरिक्षत रुपमा बच्चा जन्माउन बाध्य थिए। सदरमुकामदेखि नजिकै भएर पनि रत्नेचौरमा बर्थिङ सेन्टर स्थापना हुनसकेको थिएन। घरमै सुत्केरी हुनुलाई मातृ शिशु स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ। बर्थिङ सेन्टरबाट रत्नेचौर, उपल्लाचौर, अर्जम, भकुण्डेका गर्भवतीलाई पनि सुविधा पुग्ने जनाइएको छ। बर्थिङ सेन्टरको सोमबार सांसद भुपेन्द्रबहादुर थापाले उद्घाटन गरे। रासस