काठमाडौँ- नेपाल परिवार नियोजन सङ्घले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा रहेको क्लिनिकबाट भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा शुरुआत गरेको छ। परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवामा नेपालको सबैभन्दा पुरानो गैरसरकारी संस्थाका रुपमा कार्यरत सो सङ्घले आफ्नो स्थापनाको ६१ वर्षपछि पहिलोपटक आजदेखि सो सेवा शुरुआत गरेको हो।
यसअघि क्लिनिकमा आउने सेवाग्राहीलाई सो सेवा लिन अन्यत्र पठाउनुपर्ने अवस्था थियो। यहाँस्थित संयुक्त अरब इमिरेट्स राजदूतावासले एकस्थान सो उपरकरण सङ्घलाई सहयोग गरेको हो। अहिले दैनिक रुपमा परिवार नियोजन, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका विभिन्न क्षेत्रका सेवा लिन आउनेमध्ये पाँच÷छ जनालाई भिडियो एक्स–रे सेवा आवश्यकता पर्ने जनाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व कार्यक्रममध्ये करीब ३० प्रतिशत हिस्सा सङ्घले प्रदान गरेका सेवाले ओगटेको छ। हाल देशका करीब ३५ भन्दा बढी जिल्लाका एक हजार २०० क्लिनिकमार्फत सङ्घले सो सेवा प्रदान गरिरहेको छ।
सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको उपस्थितिमा सङ्घका कार्यकारी निर्देशक केपी विष्टलाई यहाँस्थित संयुक्त अरब इमिरेट्स राजदूत सइद हमदान अल नाक्वीले सो उपकरण हस्तान्तरण गरे।
सो अवसरमा राज्यमन्त्री डा यादवले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन कार्यान्वयन गर्न नियमावली निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिँदै सुरक्षित मातृत्व तथा प्रजनन सेवा अझ प्रभावकारी बनाइने बताए। उनले भने, “परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व सेवामा नेपाल परिवार नियोजन सङ्घको योगदान उच्च रहेको छ। यसलाई मन्त्रालयले उच्च सराहना गर्छ। अगामी दिनमा यसलाई आर्थिक सङ्कट आउन दिइने छैन।”
राजदूत नाक्वीले अगामी दिनमा नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन आफ्नो सरकारले थप सहयोग विस्तार गर्ने जानकारी दिँदै पुरानो संस्थालाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे। सङ्घका कार्यकारी निर्देशक विष्टले विपन्न समुदाय र दुर्गम क्षेत्रमा सङ्घले परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व सेवा पु¥याइराखेको र बर्सेनि ४० लाखले ती सेवा पाएको जानकारी दिए। सङ्घ अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य पनि हो। पछिल्लो समय अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले दिँदै आएको केही बजेट कटौती गरेपछि सङ्घले आर्थिक सङ्कट व्यहोरिरहेको छ।
सङ्घद्वारा सञ्चालित क्लिनिकका प्रमुख चिकित्सक ओम महर्जनले भिडियो एक्स–रे सेवाले क्लिनिकको सेवालाई अझ सजिलो बनाएको बताए। सोही अवसरमा राज्यमन्त्री डा यादवले परिवार नियोजन क्षेत्रका कम्तीमा वार्षिक रुपमा सात प्रतिशत बजेट वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरे।
सङ्घका सूचना तथा सञ्चार अधिकृत जमुना सिटौलाका अनुसार सन् २०२० सम्ममा सो क्षेत्रको वार्षिक बजेटमा सात प्रतिशत रकम वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतामा नेपालले हस्ताक्षर गरिसकेको छ। प्रतिबद्धतापत्रमा स्वास्थ्य सेवा केन्द्रहरुको विस्तार गरी जनसमुदायमा गुणस्तरीय परिवार नियोजन सेवा र सूचनाको पहुँच बढाउँदै देशको विद्यमान मातृमृत्यु दर घटाउने, परिवार नियोजनको आधुनिक साधनको आपू्र्ति मागलाई पूरा गर्न रहेको छ।
समग्र महिलाको प्रजनन हकअधिकारसग प्रत्यक्ष सरोकार राख्ने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको सक्रिय कार्यान्वयनका लागि नियमावली अविलम्ब ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धतापत्रमा रहेको छ। रासस