पाल्पा- पाल्पामा ‘विश्व फिजियोथेरापी दिवस’ का अवसरमा म्याराथन दौड आयोजना गरिएको छ।
लुम्बिनी मेडिकल कलेज र स्टुडेन्टस् च्यारिटेबल सोसाइटीको संयुक्त आयोजनमा ‘लामो समयको दुखाइको लागि फिजियोथेरापी र स्वास्थ्यका लागि दौड’ भन्ने नाराका साथ शनिबार म्याराथन दौड आयोजना गरिएको हो।
स्टुडेन्ट च्यारिटेबल सोसाइटीका अध्यक्ष डा छवि पौडेलले सो प्रतियोगितामा महिलाततर्फ एमबिबिएस अध्ययनरतकी छाज्ञा अनुपमा ज्ञवाली र पुरुषतर्फ एमबिबिएस निरज घले प्रथम भएको जानकारी दिए।
डा पौडेलले लामो समयको ब्याक पेन अथवा कम्मर वा ढाडको दुखाइको लागि फिजियोथेरापी र शरीरका मांसपेसीलाई सक्रिय राख्न दौड पनि आवश्यक भएको बताए।
पाँच किलोमिटरको सो म्याराथन प्रतियोगितामा विद्यार्थी, अस्पतालका कर्मचारी र सर्वसाधारण गरी ६५ जनाले सहभागिता जनाएका थिए।
दौड जरेपिपल पाल्पादेखि लुम्बिनी मेडिकल कलेज गेट आई सम्पन्न भएको थियो।
विश्वमा हरेक सेप्टेम्बर ८ का दिन विश्व फिजियोथेरापी दिवस मनाउने गरिन्छ। यो दिनलाई संसारभर फिजियोथेरापीबारे जागरुकता जगाउने अवसरको रुपमा मनाउने गरिन्छ।
विश्व फिजियोथेरापी कन्फेडरेसनले यो वर्ष लामो समयको दुखाइको लागि फिजियोथेरापी भन्ने थिम राखेको छ।