धनुषा– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धाश्रमका वृद्धाहरुको स्वास्थ्य चेकजाँच गरेका छन्।
स्वास्थ्य जाँच गरेपछि राज्यमन्त्री यादवले भने, ‘धेरै वृद्धाहरुमा दमको समस्या छ। उनीहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्थाका पहल गर्ने छु।’
स्वास्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा पनि उनले वृद्धाहरुलाई जानकारी गराएका थिए।
व्युटिसियन एसोसिएसन धनुषाले शनिबार आश्रममा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रममा राज्यमन्त्री यादवले वृद्धाहरुको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो। वृद्धाश्रममा अहिले १६ जना वृद्धा छन्। जानकी वृद्धाश्रममा सन्तान नभएका तथा सन्तानबाट पीडितहरु बस्दै आएका छन्।