सिन्धुपाल्चोक– गाउँकै स्वास्थ्य केन्द्रले आधुनिक उपकरणसहित औषधि र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरेपछि भीमटारबासीमा खुसी छाएको छ।
सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका, भीमटारमा अवस्थित स्वास्थ्य केन्द्रले भिडियो एक्स–रे जडान गरेपछि रोग पहिल्याउन टाढाटाढासम्म धाउनुपर्ने बाध्यता समेत अन्त्य भएको छ।
चौतारा साँगाचोकगढी नगरपालिका, स्वास्थ्य शाखाको आर्थिक सहयोग र जिल्ला अस्पताल चौताराको प्राविधिक सहयोगमा यो सुविधा उपलब्ध भएको हो।
स्वास्थ्य केन्द्रको आवश्यकताको आधारमा चौतारा अस्पतालबाट प्राविधिक सहित भिडियो एक्स–रे मेसिन लिएर केन्द्रमा लाने र परीक्षण सकिएपछि फिर्ता गर्ने गरिएको छ।
अति सिमान्तकृत जातिमध्ये पर्ने माझी र दनुवारको मात्र बसोबास रहेको उक्त बस्ती इन्द्रावती नदीको किनारमा अवस्थित छ।
स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई सकेसम्म आफूले अन्यत्र नपठाउने गरेको स्वास्थ्य केन्द्रका प्रमुख केदाननाथ दुलालले बताए।
‘म स्वास्थ्य केन्द्रको क्षमताभन्दा पनि आफ्नो क्षमताको आधारमा उपचार गर्ने भएकोले जटिल रोग बाहेक अन्यलाई अन्त रिफर गर्दिनँ,’ अहेब दुलालले भने, ‘त्यसैले यो स्वास्थ्य केन्द्र स्थापना भएपछि यहाँका धेरै मानिसलाई सजिलो भएको छ।’