काठमाडौँ- एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स छनौटका लागि असोज ७ गते परीक्षा हुने भएको छ।
विद्यालय नर्स छनौट एवं सिफारिस समतिको भदौ २४ गते बसेको बैठकअनुसार सो निर्णय गरिएको हो।
रोजगारीका अवसरका लागि प्रदेश ३ सामाजिक विकास मन्त्रालयले यसअघि भदौ ३ गते सूचना प्रकाशन गरेको थियो।
एक विद्यालय एक नर्स कार्यक्रमका लागि १ सय १ स्थानीय तहमा नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ।
सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन गरी १३ जिल्लाका स्थानीय तहका विद्यालयका लागि नर्स नियुक्ति गर्न लागिएको हो।
परीक्षा केन्द्र भदौ ३० सम्म प्रकाशन गरिने सूचनामा उल्लेख छ।
प्रदेश ३ ले १ सय १९ स्थानीय तहका १ सय २१ विद्यालयमा यो कार्यक्रम गर्ने लक्ष्य लिएको छ जसका लागि प्रदेशले ६ करोड ६५ लाख बजेट विनियोजन गरेको छ।