भैरहवा– नेपाल सिएमए संघले आफ्नो १६औँ स्थापना दिवस देशभर मनाएको छ। नेपाल सिएमए संघ रुपन्देहीले पनि आज भैरहवामा रक्तदान कार्यक्रम सहित स्थापना दिवस मनाएको छ।
कार्यक्रममा नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ५ का इन्चार्ज गोपाल उपाध्यायले देशका विकट स्थानमा पुगेर गरिब जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका सिएमए उत्तीर्ण गरेका स्वास्थ्यकर्मीहरु राज्यबाट उपेक्षित भएको बताए।
उनले सरकारले सिटामोल पु¥याउन नसकेको ठाउँमा सिएमए पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहँदा उनीहरुलाई उचित स्थान नदिएको, मागप्रति बेवास्ता गरेको र स्वास्थ्य व्यवसाय गर्नमा पनि रोक लगाएकोमा दुःख व्यक्त गरे। उनले सिएमएहरुले आफ्नो श्रमबाट त बिरामीलाई सेवा गरेकै थिए, अब आफ्नो रगत पनि बिरामीलाई दिएर मानवीय कार्य गर्न पछि नपर्ने उद्देश्यले रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको बताए।
कार्यक्रमका विशिष्ठ अतिथि नेपाल सिएमए संघका केन्द्रीय सदस्य जनकराज पन्तले चिकित्सकको अनुपस्थितिमा सिएमएहरुले गरेको स्वास्थ्य सेवाको कदर राज्यले गर्नुपर्नेमा जोड दिए। उनले नेपाल सरकारले सिएमए उत्पादन गर्नका लागि टेक्निकल कलेजहरु स्थापना गर्न दिएको तर ती टेक्निकल कलेजहरुबाट उत्पादन भएका सिएमएहरुलाई न रोजगार दिन सकेको न त स्वरोजगार नै हुन दिएको आरोप लगाए। उनले माफियाहरुलाई पैसा कमाउने थलोका रुपमा मात्र कलेज सञ्चालन गर्न दिएको आरोप समेत लगाए।
नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायले जति सिएमएले देश र जनताको लागि सेवा गरिरहेका छन्, सो अनुरुपमा देशले सिएमएहरुलाई वास्ता नगरेको आरोप लगाउँदै यदि सिएमएहरुलाई उचित दर्जा, स्वारोजगारमूलक पेसा गर्न नदिने हो भने सिएमए उत्पादन किन गर्न दिने भनि सरकारसँग प्रश्न गरे।