धादिङ- एक जना झाँक्रीले शरीरको विकास फालिलिने भन्दै जण्डिस (कमलपित्त)बाट ग्रस्त बिरामीको पेट चिरेर रगत चुसिदिएका छन्। जिल्लाको नीलकण्ठ नगरपालिका–३ का झाँक्री गजबबहादुर लामाले नीलकण्ठ ९ झगरेका ३९ बर्षीया जण्डिस विरामी राजु मगरको उपचार गर्ने नाउमा पेट चिरेर रगत चुसेका हुन्।
पेट चिरेर घाइते भएका मगरको अहिले जिल्ला अस्पताल धादिङले वीर अस्पतालमा रिफर गरेको छ।
मगरका अनुसार गजबबहादुरले उपचारका नाउमा अरु विरामीको समेत पेट चिर्ने गरेका छन्। उनले गत १५ भदौमा आफ्नो पेट चिरेर गजबबहादुरले रगत समेत चुसेको बताए।
जण्डिसको समस्याबाट छुटकारा पाउन भन्दै मगर गत १५ भदौमा गजबबहादुरकोमा पुगेका थिए। सो क्रममा लामाले मगरलाई आफूले यस्ता धेरै रोग निको पारेको भन्दै शरीर भित्रको विकास तान्नु पर्छ भनेका थिए।
लामाले त्यसबेला कमलपित्त तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामी मगरसँग रु आठ हजार ३८० रकम लिएका थिए।
उनले त्यसबेला पत्तीले देब्रेपट्टी बिरामीको पेट चिरेका थिए। पेट चिर्ने बेलामा झाँक्रीले बिरामीको श्रीमती र सँगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए। पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूले चुसेको बिरामी मगरले बताए।
करीब दुई महीनादेखि कमलपित्तले थलिएका मगर कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको छ। कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि यसरी पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ।
मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए। ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ।
लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन्। उनको यसअघि पनि केही घटना विवादमा आएका थिए। तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएका थिए। ती महिलालाई प्रहरीकामा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी नगरेको अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिए।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारवाही गरिने बताए। रासस