सुर्खेत- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा विपन्न नागरिकहरुलाई रु ८ लाख बराबरको निःशुल्क सेवा प्रदान गरिएको छ।
प्रतिष्ठान जुम्लाले गत आव २०७५/७६ मा पैसाका अभावमा उपचार गर्न नसकेका २८६ गरिब, दलित र विपन्न नागरिकलाई निःशुल्क उपचार सेवा प्रवाह गरेको हो। कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, बाजुरा, अछाम, बझाङ लगायतका जिल्लाका विपन्न नागरिकलाई रु ८ लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराइएको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिए।
'हामीले यहाँका विपन्नलाई हड्डी, एपेन्डीसाइट, पित्तथैलीजस्ता ठूला रोगको शल्यक्रियामा निःशुल्क सेवा प्रदान गरेका छौँ,' निर्देशक गोसाईंले भने, 'यसले हिमाली जिल्लाका गरिब तथा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य उपचारमा न्यायको अनुभूति दिलाएको छ।'
विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवाका कारण अहिले नेपालगन्ज, सुर्खेतबाट जुम्ला प्रतिष्ठानमा उपचार गर्ने आउनेको आकर्षण बढ्न थालेको उनले बताए।
प्रतिष्ठान जुम्लाले गत आव २०७५/७६ मा ४५ हजार ८३२ नागरिकको सबैखाले रोगको उपचार गरेको छ। सुरक्षित सुत्केरी गराउनेको सङ्ख्यामा पनि वृद्धि भएको गोसाईंले बताए। उनका अनुसार गएको वर्ष २हजार ६०५ साना र ६७१ जनालाई जटिल खालका रोगको शल्यक्रिया गरिएको थियो।
प्रतिष्ठानले स्त्रीरोग, बालरोग, हड्डी, एनेस्थेसिया, नाक, कान, घाँटी, दाँतको विशेषज्ञ उपचार सेवाका साथै आफ्नो कार्य क्षेत्रका १३ जिल्लामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले मानसरोवर कैलाश पर्वतमा जाने भारतीय तीर्थयात्रीलाई हिल्सामा विशेषज्ञ स्वास्थ्य शिविर राखेर उपचारसमेत दिएको बताए।
उनका अनुसार हाल प्रतिष्ठानले जनरल मेडिसिन/सर्जरी, ब्लड बैंक, एक्सरे, सामुदायिक स्वास्थ्य सेवा, कोलोनोस्कोपी, युएसजी, इसिजीसिटी स्क्यान, प्याथोलोजी, पेडियाट्रिक, साइकियाट्रिक, इन्डोस्कोपी, आइसीयु लगायतका सेवा उपलब्ध गराएको छ।
प्रतिष्ठान जुम्ला ३ सय शय्याको बनेपछि कर्णालीवासीलाई अहिले स्वास्थ्य सेवा प्राप्तिमा सहज भएको छ।