काठमाडौं– वरिष्ठ मनोरोग विषेशज्ञ डा विश्वन्धु शर्माद्वारा लिखित पुस्तक ‘मान्छेको मन’ शनिबार राजधानीमा विमोचन गरिएको छ।
विमोचन कार्यक्रममा बोल्दै पुस्तकका लेखक डा शर्माले विचलित मनलाई व्यवस्थित गर्ने कार्यमा बिताएको ४० वर्ष लामो अनुभवलाई आफूले पुस्तकमा समेटेको बताए।
‘हजारौं अनियन्त्रित बनेका मनहरु, बाटो बिराएर भौंतारिएका मनलाई सामान्य अवस्थामा फर्काउन गरेको संघर्ष, बिरामीको पीडा र बिरक्तिएका मनको व्यवस्थापनमा भोगेको अनेकौं कठिनाइसँगै सफलताको सँगालो र आफ्नो मनको अनुभुति, उतारचढावलाई एउटै धागामा उनेर माला बनाउने कोशिस गरेको छु,’ उनले भने।
कार्यक्रममा डा रवीन्द्र समिरले मान्छेको मन पुस्तकले मानसिक स्वास्थ्यको इतिहास बोकेको बताए। उनले यो पुस्तक स्थानीय स्तरदेखि राज्यका महत्वपूर्ण निकायका सबैले एक पटक पढ्नैपर्ने बताए।
उक्त पुस्तकका सम्पादक पत्रकार लक्ष्मण अधिकारीले विचलित मनलाई सही ट्रयाकमा ल्याउने क्रममा आफूले प्राप्त गरेको खुसी मात्रै होइन, असफलतालाई पनि डा विश्वबन्धु शर्माले निर्धक प्रस्तुत गर्नुभएको बताए ।