काठमाडौं– बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीले नवनियुक्त राजदुत डा वंशीधर मिश्रसँग भेट गरेका छन्। भेटका क्रममा विद्यार्थीले बंगलादेशमा भोग्नु परेको समस्या र त्यसलाई समाधान गर्न ध्यानाकर्षण गराएका छन्।
नवनियुक्त राजदुत मिश्रले विद्यार्थीका समस्या बुझेर समाधान गर्ने तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल बंगलादेश मेडिकल वेलफेयर सोसाइटीका अध्यक्ष रजनिश अधिकारी, बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा पिजी अध्ययनरत डा सम्राट पराजुलीको अगुवाईमा नेपाली विद्यार्थीको टोलीले भेट गरेका हुन्।
भेटमा उनीहरुले बंगलादेशमा अध्ययनका क्रममा मेडिकल कलेजहरुबाट नियम अनुसार पाउनु पर्ने तलब (स्टाइपेन्ड) र अन्य सुविधाबाट बन्चित भएको भन्दै समाधानका लागि पहल गर्न राजदुत मिश्रसँग आग्रह गरेका छन्। उनीहरुले समस्याका विषयमा राजदुतलाई ज्ञापन पत्र समेत बुझाएका छन्।
डा पराजुलीका अनुसार स्टाइपेन्डका विषयमा पहिला पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष कुरा पु¥याइएको थियो। तर, राजदुत नहुँदा बंगलादेशको सरकारसँग समन्वय गर्ने समस्या परिरहेको थिए।