काठमाडौं- पछिल्लो समय नेपालमा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। डेंगु संक्रमणका कारण हालसम्म यो वर्ष मात्र ६ जनाको ज्यान गइसकेको छ भने ५ हजारभन्दा बढी बिरामी भएका छन्।
डेंगुको संक्रमण बढ्न थालेपछि यसबाट जोगिने विषयमा जनचेतना फैलाउन विद्यालय र समुदायमा डेंगु सचेतना अभियान सुरु भएको छ। ‘डक्टर अन कल’ले स्वास्थ्य कार्यालय काठमाडौं, अरेन्ज बल, नेपाल चिकित्सक संघ र स्वास्थ्यखबरसँगको सहकार्यमा उपत्यकाका विभिन्न विद्यालय तथा समुदयामा अभियान सुरु गरेको हो।
अभियान अन्तर्गत पहिलो चारणमा भिएस निकेतन स्कुल मिनभवनमा वृहत सचेतना कार्यक्रम सम्पन्न भएको छ। सचेतना अभियानका डेंगुका विषयमा जानकारी दिनुका साथै डेंगु संक्रमण गराउने लामखुट्टेको बासस्थान नष्ट गर्न, डेंगुबाट जोगिने, लगायतका विषयमा जानकारी दिइएको डक्टर्स अन कलका म्यानेजिङ डाइरेक्टर डा सुमन न्यौपानले जानकारी दिए।
उक्त कार्यक्रममा १२ सय जनालाई जानकारी दिइएको न्यौपानले बताए। उनका अनुसार यो अभियान अन्य विद्यालय र समुदायमा पनि जारी रहने छ।