सिन्धुली - दुधौली नगरपालिकाको स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्तले मंगलबार तालाबन्दी गरेका छन्। स्वास्थ्यकर्मीको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको आरोप लगाउँदै उनीहरुले तालाबन्दी गरेका हुन्।
दुधौली नगरपालिका–२ रतनपुरकी २१ वर्षीया अनुषा कुमरलाई व्यथा लागेपछि सोमबार दुधौली नगरपालिका–१ हतपतेस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। उनले भर्नालगत्तै छोरी जन्माएकी थिइन्। अत्यधिक रक्तस्राव भएपछि समयमै स्वास्थ्यकर्मीसँग सल्लाह गरिएको अनुषाका आफन्त सुकदेव अधिकारीले बताए। “यहीँ ठिक हुन्छ भनेपछि हामी ढुक्क भयौँँ”, उनले भने।
रातिसम्म रक्तस्राव नरोकिएपछि अनुषालाई उपचारका लागि अन्यत्र लैजान आफन्तसँग स्वास्थ्यकर्मीले आग्रह गरेका थिए। उपचारका लागि बर्दिवास लैजाने क्रममा राति अनुषाको बाटोमै ज्यान गएको हो।
“समयमै अन्यत्र लैजान सुझाव दिएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो”, अधिकारीले भने, “लापरवाहीले ज्यान गयो ।”
बिरामीका आफन्त र स्थानीयवासीले घटनाबारे छानबिन गर्न माग गरेका छन्। उनीहरुले स्वास्थ्य चौकीमा तालबन्दी गरेपछि सेवा प्रभावित भएको छ। रासस