काठमाडौं– गण्डकी बोर्डिङ स्कुल पोखराका पूर्वविद्यार्थीको संगठन (एग्बोसा) ले मुस्ताङको मार्फामा एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ।
भदौ २८ गते सम्पन्न शिविरमा मुटु, दम, क्यान्सर, नाक, कान, घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाव, बालबच्चा रोग, स्त्री तथा प्रसूति र थाइरोइडका एक हजार २२ जना बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
वीर अस्पतालका इन्डोक्राइमोलोजिस्ट डा दीपक मल्लको नेतृत्वमा मिर्गौला रोग विशेषज्ञ डा अनिल बराल, न्युरोलोजिस्ट डा कृष्ण ढुंगाना, प्रसूति रोग विशेषज्ञ डा रिमा मल्ल, इन्डोक्राइमोलोजिस्ट डा तीर्थलाल उपाध्याय, डा केशव शर्मा, डा विष्णु भण्डारी, डा जीवन पौडेल, डा सन्तोष पौडेललगायत २७ जना चिकित्सक उक्त शिविरमा सहभागी थिए।
डा दीपकका अनुसार शिविरमा ‘माइनर’ शल्यक्रियासमेत गरिएको थियो। ‘शिविरमा बिरामीको रगत र पिसाब परीक्षण गरिनुका साथै भिडियो एक्स रे, फोक्सोको जाँच, इसिजी पनि गरिएको थियो।’
शिविरको उद्घाटन गन्डकी स्कुलका पूर्वविद्यार्थी एवं प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरेका थिए। शिविरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो।
एग्बोसाले हरेक वर्ष शिविर आयोजना गर्दै आएको छ।