बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ। भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ।
गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताए।
सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उनकाे भनाइ छ। अहेव कमल कट्टेलका अनुसार स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका छन्।
मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँएकाे बताइएकाे छ। भाइरलले स्थानीयवासीको घारायसी कामदेखि खेतीपाती भित्र्याउनसम्म समस्या भएको छ।स्थानीयबासीका अनुसार ज्वराेका कारणा बालबालिका विद्यालय जान नसकेका छैनन।
बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खनाखान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीकाे भनाइ छ।
भाइरल ज्वरो र टाउको दुखाइले बालबालिका विद्यालय जान नसक्दा घरमै थला परेका कारण विद्यालयसमेत बन्द गर्नुपरेकोे हिमचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र चन्दले जानकारी दिए।
विद्यालयमा १३२ सम्म बालबालिका पढ्न आउने गरेका तर अहिले १५ देखि २० सम्म पनि मुस्किलले आउने गर्दा विद्यालय बन्द हुने अवस्था आएको प्रधानाध्यापक चन्दको भनाइ छ। रासस