विराटनगर– धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको लियो क्लब अफ धरान घोपा युनाइटेड, लायन्स क्लब अफ विराटनगर युनाइटेड र लियो क्लब अफ विराटनगर युनाइटेड लगायतका संस्थाहरुको अगुवाइमा बुधबारदेखि विद्यालयमा क्यान्सर सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
"क्यान्सर पत्ता लगाऔं, उपचारमार्फत रोकौं र रोगीको सहायता गरौं" भन्ने नाराकासाथ कार्यक्रम सुरु गरिएको हो। "दीर्घायु: माई हेल्थ, माइ कन्सर्न" कार्यक्रम अन्तर्गत विराटनगर र धरानका विभिन्न विद्यालयहरुमा स्वास्थ सचेतना अभियान बुधबारदेखि सुरु भएको हो।
अभियानको पहिलो र दोस्रो दिनमा विराटनगरका शिक्षादीप र कान्तिपुर उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत कक्षा १० र ११ का २६० जना विद्यार्थीहरुको सहभागिता गराइएको कार्यक्रम संयोजक शुभमकुमार अग्रवालले बताए।
उनका अनुसार महिलामा स्तन तथा पाठेघरको र पुरुषमा ग्यास्ट्रिक र फोक्सोको क्यान्सर बढी देखिएकोले त्यस सम्बन्धी सचेतता जगाइएको हो। वंशाणुगत, आधुनिक जीवनशैली, गलत खानपान, प्रदुषण, सूर्तिर्जन्य पदार्थको सेवन, कीटनाशक औषधिको प्रयोगजस्ता कारणले क्यान्सरको जोखिम बढेकोले त्यसबाट बच्न सकिने उपायको बारेमा जानकारी गराइएको उनले बताए ।
रोग लाग्नुको कारण जेसुकै भए पनि बेलैमा रोग पत्ता लागे सकारात्मक सोच र दृढ मनोबलका साथ चिकित्सकको निगरानीमा उपचार सम्भव भएको उनको भनाइ छ।
लियो डिस्टृक्ट काउन्सिल ३२५ ए १ नेपालका अध्यक्ष लियो रन्जित भगतले क्यान्सरबारे जनचेतना जगाउन सके मात्र त्यसलाई न्यूनीकरण गर्न सकिने धारणा राखे। उनले क्यान्सर के कारणले हुन्छ र त्यसबाट कसरी बच्न सकिन्छ भनेर सचेतना जगाउन सके मात्र क्यान्सरलाई न्यूनीकरण गर्न सकिने बताए।
सामाजिक उत्तरदायित्वअन्तर्गत डरलाग्दो रोग क्यान्सरका बारेमा जनचेतना जगाउने उद्देश्यले नै यस्ता कार्यक्रमहरुको आयोजना गरेको बताउँदै सबैले सचेत हुने हो भने डरलाग्दो रोग क्यान्सरबाट बच्न सकिने उनले बताए ।
कार्यक्रममा सहभागी लायन्स क्लब अफ विराटनगर युनाइटेडकी अध्यक्ष लायन कला खडकाले बिरामीले रोग लुकाएर बस्नुभन्दा पनि खुलस्त भएर कुराकानी गर्नुपर्नेमा जोड दिइन्।
लायन्स क्लबकी अध्यक्ष लायन कला खडकाले क्यान्सरबारे सर्वसाधारणमा पर्याप्त जानकारीको अभाव रहेको बताइन् । 'बर्सेनी क्यान्सरका बिरामी बढ्दै गएका छन्,' उनले भनिन्, ‘त्यसैले यसबारे पर्याप्त जानकारी गराउन जरुरी छ।’ क्यान्सरबारे धेरैभन्दा धेरैलाई सचेत गराउने लक्ष्यले नै कार्यक्रम राखिएको लियो विराटनगर युनाइटेडका अध्यक्ष लियो आरिफ विलियमले बताए।